चितवन- उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आफू सधैँ व्यवसायीको हकहितमा लागेको र आगामी दिनमा पनि सधैँ लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रत्ननगर उद्योग वाणिज्य संघमा आयोजित एक कार्यक्रममा उनले व्यवसायीको हकहित र सुरक्षामा कुनै पनि कमी हुन नदिने बताएका छन् । महासंघको आगामी चैत्र २९ र ३० गते हुने महाधिवेशनमा वरिष्ठ उपाध्यक्षको उमेदवारसमेत रहेका ढकालले सरकारसँग सधैँ सहकार्यगरी उद्योगी व्यवसायीको हकहितको लागि अगाडि बढ्ने बताए ।

सरकार र निजी क्षेत्रको सहकार्यबिना देश विकास हुन नसक्ने भन्दै उनले जिल्ला, नगर र केन्द्रबीचको दुरीलाई नजिक ल्याउनेसमेत बताए । जिल्ला, नगर र प्रदेश संघलाई क्षमतावान् र सक्षम बनाउन आफू सधैँ लाग्ने उनको भनाइ थियो । ढकाल सफल व्यवसायी एवम् आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्षसमेत हुन् ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष चण्डीराज ढकालले संस्था र उद्योगी व्यवसायीको हकहित र सुरक्षामा महासंघ सधैँ लागिरहेको र आफू तथा संस्था सधैँ लाग्नेसमेत बताए ।

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका कोषाध्यक्ष निरक केसी, केन्द्रीय सदस्य सुरकृष्ण वैद्य, राजन श्रेष्ठ, प्रदेश नं १ का अध्यक्ष नरेन्द्रकुमार खड्का, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, निवर्तमान अध्यक्ष सहनलाल प्रधान, वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, उपाध्यक्ष चिरञ्जीवी सुवेदी, गैँडाकोट उद्योग वाणिज्य संघका अध्यक्ष अमृत भट्टचन, रत्ननगर उद्योग वाणिज्य संघका उपाध्यक्ष शंकर गिरीलगायतको सहभागिता रहेको थियो ।

यसैबीच, खैरहनी उद्योग वाणिज्य संघमा पनि महासंघका वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार ढकालसहितको टोलीले भेटघाट कार्यक्रम गरेको थियो । संघका अध्यक्ष चन्द्रप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष गुणराज श्रेष्ठ, द्वितीय उपाध्यक्ष शेषकुमारी सडौला ओली, तृतीय उपाध्यक्ष बुद्धिराज डल्लाकोटी, महासचिव कुमार खनाल, सदस्य रामेश्वर पोखरेललगायतको उपस्थिति रहेको थियो ।

यस्तै, उद्योग वाणिज्य संघ चितवनले पनि ढकालसहितको टोलीलाई स्वागत गरेको थियो । ढकाललाई अध्यक्ष राजु श्रेष्ठले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया