चितवन- दुवै मिर्गौलाले काम नगरेपछि समस्यामा परेकी कालिका नगरपालिका वडा नं २ स्थित पदमपुर, कमलचोककी चरीमाया महतोलाई आर्थिक सहयोग जुटेको छ । आर्थिक अभावका कारण मिर्गौला प्रत्यारोपणका लागि समस्यामा परेकी महतोलाई १ लाख १५ हजार ६०० रुपैयाँ सहयोग जुटाइएको हो ।

कालिका वडा नं ६ बुद्धज्योति टोल विकास संस्थाका दावादोर्जे मोक्तान, बुद्धिमाया तामाङ, पञ्चमाया घिसिङलगायतको पहलमा संकलित सो रकम शनिबार कार्यक्रमबीच मिर्गौला रोगी महतोलाई हस्तान्तरण गरिएको हो ।

चरीमायाको मिर्गौला प्रत्यारोपणका लागि करिब १५ लाख रुपैयाँ लाग्ने चिकित्सकहरुले बताए पछि आर्थिक अभावका कारण उनले मिर्गौला प्रत्यारोपण गर्न सकेकी छैनन् ।

उनको लागि मनकारी व्यक्ति तथा संघसंस्थाले आवश्यक सहयोग जुटाएर पुनर्जीवन दिन उनले सबैमा अपिल गरेकी छन् ।

सुकुमबासी परिवारकी चरीमायाले रकम जुटाउन नसक्दा आफू जीवनमरणको दोसाँधमा पुगेको बताइन् । १० धुर जग्गामा सानो झुप्रो घर बनाएर बसेका महतो परिवार ज्याला मजदुरी गरेर गुजारा टार्दै आएका थिए ।

उनको उपचारमा समस्या भएकोले सहयोगीदाताले सहयोग गरिदिन परिवारजनले देश तथा विदेशमा रहने सबैसँग अपिल गरेका छन् । चरीमायाकी बुहारी जानकी महतोले सहयोगीदाताहरुलाई सहयोगको लागि अनुरोध गर्दै मोबाइल नं ९८०९१६४५३१ मा सम्पर्क गरी सहयोग जुटाइदिन आग्रह गरेकी छन् ।

तपाईको प्रतिक्रिया