मेलम्ची- वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका निमित्त प्रमुख किशोरकुमार दाहालले सिन्धुपाल्चोकमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरेका छन् ।

आयोजनाको काममा कुनै पनि किसिमको सुरक्षा चुनौती हुन नदिने उद्देश्यसहित प्रमुख दाहालले जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्वल महर्जनसहितको टोली लिएर आयोजनाका कामको आकस्मिक निरीक्षणसँगै सुरक्षा चुनौतीबारे बुझेका थिए ।

प्रदेशको लागूऔषध नियन्त्रण र कोरानाविरुद्ध सचेतना अभियानकै क्रममा उनले आयोजनाको सुरक्षाका विषयमा आकस्मिक निरीक्षण गर्दै सोही अवसरमा सुरक्षा अवस्था र समस्याबारे विशेष चासोसमेत राखेका थिए ।

आयोजनाको काम, प्रगति र सुरक्षा अवस्थाका विषयमा आयोजनाका ई शेखर खनालले जानकारी गराएका थिए । निरीक्षणका क्रममा उनले आयोजनाको काममा सुरक्षाको दृष्टिकोणले कुनै असर आउन नदिन निर्देशन दिए ।

प्रहरी कर्मचारीले व्यक्तिगत एवम् पेशागत आचरण र व्यवहारमा थप सुधार गरी आफ्नो जिम्मेवारीमा लगनशील, निष्पक्ष र निःस्वार्थ हुनसमेत दाहालले आग्रह गरे ।

सो अवसरमा जिल्ला प्रहरी प्रमुख महर्जनले आफूहरुले देशकै महत्त्वपूर्ण आयोजना भएकाले गम्भीरताकापूर्वक निगरानीसहित सुरक्षा दिइरहेको जानकारी दिए । यसअघि उनले दोलखाको अपर तामाकोशी र सिन्धुपालचोकको मध्यभोटेकोशीको सुरक्षा चुनौतीका विषयमा स्थलगत निरीक्षण गरिसकेको बताए ।

तपाईको प्रतिक्रिया