काठमाडौँ- सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा हालसम्म कुनै सङ्क्रमण नभएको स्पष्ट पारेको छ । चीनबाट फैलिएको कोरोनाको सङ्क्रमण विश्वका १५५ देशमा फैलिएको र हालसम्म पाँच हजार ९६२ को मृत्यु भइसकेको तथ्यांक सार्वजनिक भए पनि नेपालमा ४६४ जनामा परीक्षण गरिँदा हालसम्म सङ्क्रमित फेला नपरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

राष्ट्रियसभाको आइतबारको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै स्वास्थ्यमन्त्री ढकालले कोरोनाको सम्भावित जोखिम नियन्त्रणका लागि विशेष सतर्कता अपनाइएको बताए ।

संघीय सरकारले प्रदेश तथा स्थानीय तहको सरकारसँग प्रभावकारी समन्वय सक्रमण फैलन नदिने विशेष सतर्कता अपनाएको जानकारी दिए ।

यसअघि गत फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा आठ मन्त्री सम्मिलित अधिकारसम्पन्न समिति गठन गरेको छ । उनले उक्त समितिको एक दिन बिराएर बैठक बसी कोरोनाको सङ्क्रमण रोक्न सम्भावित जोखिम न्यूनीकरणका लागि विशेष सतर्कताका साथ काम अघि बढाइएको सदनलाई जानकारी दिए ।

आइतबार सातै प्रदेशका मुख्यमन्त्री तथा सामाजिक विकास मन्त्रीसहितको बैठकको आयोजना गरेर केन्द्रदेखि स्थानीयतहसम्म समन्वय गरी एकीकृत स्वास्थ्य सुरक्षा सतर्कता अपनाइने जानकारी उनले दिए ।

सरकारले कोरोनाको सम्भावित जोखिमलाई ध्यानमा राखी कूटनीतिकबाहेकका सबै प्रवेशाज्ञा आगामी वैशाख १८ गतेसम्मका लागि स्थगन गरेको जानकारी दिँदै स्वास्थ्यमन्त्रीले छोटो समयका लागि विदेश अध्ययनमा जाने विद्यार्थी र विदेशमा काम गर्न जाने श्रमिकको श्रम स्वीकृति पनि बन्द गरिएको बताए ।

काठमाडौँमा करिब १७० सघन कक्ष शय्या रहेकाले काठमाडौँ उपत्यकामा १२० र उपत्यका बाहिर ११५ गरी २३५ शय्या थप गर्ने सरकारी तयारी छ ।

सरकारले यसअघि नै विभिन्न सरकारी अस्पतालमा गरी ११५ आइसोलेसन बेड स्थापना गरिसकेको जानकारी दिँदै स्वास्थ्यमन्त्री ढकालले थप जोखिमलाई ध्यानमा राखी औषधिमूलो र औजारसमेत जोहो गर्न लागिसकिएको बताए ।

कोरोनाको सङ्क्रमण नेपालमा भित्रन नदिन उच्च सावधानी अपनाइएको जानकारी दिँदै मन्त्री ढकालले छिमेकी भारतमा समेत यो रोगको सङ्क्रमण देखिएकाले सीमा नाकामा थप सतर्कता अपनाइएको स्पष्ट पारे ।

मन्त्री ढकालले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुप होम क्वारेन्टाइनको व्यवस्था गर्न नागरिकलाई आग्रह गरिएको तथा कोरोनाको हल्लाले बजारमा दैनिक उपभोग्य वस्तुमा हुने अभाव र कालोबजारी नियन्त्रणका लागि आवश्यक सजगताका साथ काम गरिएको जानकारी दिए ।

चीनपछि अमेरिका र युरोपमा फैलिएको सो भाइरसबाट भारतमा पनि सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले विशेष सावधानी अपनाउनुपर्नेमा सरकारले जोड दिएको जानकारी उनले दिए ।

नेपालसँग सीमा जोडिएका भारतका प्रदेशमा समेत कोरोना सङ्क्रमण देखिएकाले सरकारले नेपाल भारत सीमा क्षेत्रलाई थप व्यवस्थित बनाई परीक्षणसमेत सुरु गरेको बताए । नेपालका दुई छिमेकी देश जोड्ने साना ठूला गरी कूल १२९ नाकामध्ये ४३ नाकामा स्वास्थ्यविन्दु स्थापना गरी परीक्षण सुरु गरिएको छ ।

तपाईको प्रतिक्रिया