काठमाडौँ- सरकारले कोरोनाको सम्भावित जोखिमलाई ध्यानमा राखी भारत हुँदै तेस्रो देशबाट नेपाल भित्रने विदेशी नागरिकको परीक्षणमा विशेष ध्यान दिइएको र सीमा क्षेत्रका नागरिक आवागनमा समेत परीक्षण गरेरमात्रै जाने गरी व्यवस्थापन गरिएको छ ।

अन्तर्राष्ट्रिय सीमा जोडिएका कुल १२८ स्थानीय तहलाई २१ बुँदे विशेष परिपत्र गरिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिए । उनले भने,“सरकारले प्रमुख जिल्ला अधिकारी र स्वास्थ्यकर्मीलाई जिल्ला नछाड्न निर्देशन दिएको छ । अस्पतालमा काम गर्ने जोखिमपूर्ण काम गर्ने जनशक्तिलाई भय र आतङ्कबाट जोगिने गरी काम गर्ने व्यवस्थापन गरिएको छ ।”

कूटनीतिकबाहेक अन्य प्रवेशाज्ञा रोकिएको छ । देशभित्र अध्ययनरत ५६ लाख विद्यार्थीमध्ये ५० लाख विद्यार्थीको परीक्षा यही चैत ५ गतेभित्र सक्ने गरी व्यवस्था मिलाइएको छ । यस्तै एसइई परीक्षाका लागि समेत सरकारले अवस्थाको मूल्यांकन गरेर आवश्यक निर्णय गर्ने उनले जानकारी दिए ।

चीनबाट नेपाली विद्यार्थी ल्याउने सन्दर्भमा सरकारले क्वारेन्टाइनको व्यवस्थापन गरेको र त्यसबाट सरकारले राम्रो व्यवस्थापन गरेको आमरुपमा स्थापित भएको जानकारी दिँदै सरकारले केही गर्दैन कि भन्ने विषयमा मन्त्री ढकालले भने, “राज्य अभिभावक हो, कोही बिरामी भए भने उपचारको व्यवस्था गर्छ, त्यसमा चिन्ता नलिनुस् ।”

उनले सरकारले दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउनका लागि हुनेसम्मका सबै पहल गरिएको जानकारी दिए ।

अत्यावश्यक औषधि तथा उपकरणको व्यवस्थापनका लागि विशेष प्रयत्न गरिएको उल्लेख गर्दै स्वास्थ्यमन्त्री ढकालले कुनै पनि अभाव हुन नदिइने स्पष्ट पारे ।
बैठकमा स्वास्थ्यमन्त्रीको वक्तव्यमाथि सांसद रामनारायण बिडारी, प्रकाश पन्थ, कोमल वली, अनिता देवकोटा, विमला पौडेललगायतले कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि सरकारी निकायबीच समन्वय, सेल्फ क्वारेन्टाइन र कालोबजारी नियन्त्रणबारे सरकारको तयारीबारे जिज्ञासा राखेका थिए ।

तपाईको प्रतिक्रिया