चितवन- पूर्वी चितवनको रत्ननगर–१, निपनीस्थित ॐशान्ति राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत साना विद्यार्थीहरुको सहजताका लागि बस सेवा सुरू भएको छ ।

रत्ननगर निपनीस्थित होटल स्टार व्याङ्क्वेट प्रालिका सञ्चालक भेषराज दुवाडीले अर्को वैकल्पिक व्यवस्था नभएसम्मका लागि विद्यार्थीहरुलाई बसमा विद्यालय ल्याउने/लैजाने व्यवस्था गरिदिएका हुन् ।

विद्यालय र विद्यार्थीहरुको बसाइको दुरी टाढा भएको र सवारीसाधनको बढ्दो चापका कारण दुर्घटनाको सम्भावनालाई मध्यनजर गरी समाजसेवी दुवाडीले यातायातको व्यवस्था गरिदिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर महतोले बताए ।

विद्यालयकी प्रधानाध्यापक राधा चौधरीले आउँदो शैक्षिक सत्र २०७७ लाई लक्षित गरी विद्यालयमा भर्ना अभिवृद्धि गर्न र विद्यार्थीलाई टिकाइ राख्नुका साथै सिकाइ उपलब्धिलाई दिगो बनाइ राख्नसमेत बस सुविधाले थप सहयोग मिल्ने अपेक्षा व्यक्त गरिन् ।

उनले समाजसेवाको भावनाले ओतप्रोत भएका दुवाडीको सहयोग विद्यालयका लागि अमूल्य रहेको बताउँदै स्थानीयको सहयोग र सद्भावबाट गरिब, विपन्न तथा सीमान्तकृत बालबालिका पढ्ने विद्यालयमा सुविधा थपिँदै गएकोमा खुसी व्यक्त गरिन् ।

तपाईको प्रतिक्रिया