चितवन- विदेश जाने तयारी गरेका एक जोडीले स्वदेशमा नै व्यवसाय सुरु गरेको छ । क्यानडाको अनामिकी ब्यूटीशैलुनमा काम गर्दै गरेकी इन्द्रा श्रेष्ठले साइप्रसर रहेका आफ्ना पति अनिल श्रेष्ठलाई विदेश जान स्वदेश बोलाइन् । पति स्वदेश फर्किएपछि उनमा यहाँ नै केही गर्ने सोच पलायो ।

यही सोचका साथ श्रेष्ठ दम्पतीले यहाँ डि लाभान्डिज नामक ब्यूटीसैलुन र स्पा सञ्चालनमा ल्याएका छन् । इन्द्राले आफ्नो दुई वर्षे विदेशी अनुभवलाई स्वदेशमा नै प्रयोग गर्न थालेकी छन् ।

उनले भनिन्, “समाजशास्त्रमा स्नातकोत्तर गरेपछि क्यानडा जान चाहेको भए पनि श्रीमान् मान्नुभएन । हामीले विदेश जान तयार पारेको पैसाले यही व्यवसाय सुरु ग¥यौँ ।” भरतपुर महानगरपालिका–१० को नहरचोकमा सुरु भएको यो व्यवसायमा ती दम्पतीले रु ४० लाखभन्दा बढी लगानी गरेका छन् । इन्द्राका अनुसार यहाँ दुलाहादुलही सिँगार्ने, महिला र पुरुष दुवैका लागि सेवा दिने लाभान्डिजमा कपाल काट्ने, कपालको उपचार गर्ने, मसाल गर्नेलगायत महिला पुरुषले गर्ने सिँगारका सबै काम हुन्छ ।

शुभारम्भको अवसरमा पाँचपटक सेवा लिनेलाई छैटौँपटक निःशुल्क सेवा दिने गरिएको छ । रु ५० को थ्रेडिङदेखि रु १८ हजारको सिँगारसम्म यहाँ हुने गर्दछ । उच्चस्तरको सामग्री प्रयोग हुने भएकाले गुणस्तरीय सेवा दिने बताउँदै उनले भनिन्, “स्थानीय बजारमा हामीले दिने सेवा अन्यले दिन कठिन छ ।”

गत माघ १३ गतेबाट सुरु भएको व्यवसायमा अहिले सन्तोषजनकरुपमा कारोबार भइरहेको छ । त्यसो त यहाँ राष्ट्रिय र स्थानीय कलाकारसमेत सेवा लिन आउने गरेका छन् । साइप्रसबाट होटल व्यवस्थापनमा स्नातक गरेका अनिलले विदेशमा भन्दा स्वदेशमै मिहिनेत गर्नुपर्ने बताए । उनले भने, “जोश र जाँगर रहुञ्जेल विदेशमा बिताएर बूढेसकालमा स्वदेश फर्किनु हुँदैन । यही केही गर्नुपर्छ भन्ने उद्देश्यले व्यवसाय थालेका हौँ ।”

दुवै जना काममा लाग्ने भएकाले यसको अतिरिक्त अन्य दुईले यहाँ रोजगार गरिरहेका छन् । परिवारका सदस्यले पनि काममा साथ दिने भएकाले सेवाग्राही फर्किनु नपर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया