चितवन- रत्ननगर नगरपालिका वडा नं १५ ले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । बजारमा रहेका बैंकसम्म पुगेर भत्ता लिन झन्झटिलो भएपछि वृद्धवृद्धाहरुको सहजताको लागि वडाबाटै भत्ता वितरण सुरु गरिएको हो ।

मंगलवार वडाध्यक्ष हुमनाथ लामिछानेले सो कार्यको उद्घाटन गरेका छन् । गरिमा विकास बैंक टाँडी शाखाले वडा कार्यालयमै पुगेर वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिलाई भत्ता वितरण गर्ने छ । वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष लामिछाने र बैंकका शाखा प्रमुख विष्णु पौडेलले भत्ता रकम हस्तान्तरण गरेका थिए ।

सो अवसरमा वडाध्यक्ष लामिछानेले वृद्धवृद्धा, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुको सहजताको लागि वडाबाट भत्ता वितरण गर्न लागिएको बताए । उनले अपाङ्ग,अशक्तलाई घरमै भत्ता उपलब्ध गराउन बैंकसँग सहमति भएको जानकारी दिए ।

सो वडामा ३९४ ज्येष्ठ नागरिक, १३० एकल महिला र २९ जना अपाङ्गता भएका व्यक्ति रहेका छन् । भत्ता वितरण कार्यक्रममा वडा सदस्यहरु लीलादेवी पोखरेल, एकमाया परियार, रामकृष्ण खड्का, रामबहादुर लामा, वडा सचिव रुपबहादुर पण्डित, सहायक सन्तोष थापालगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया