काठमाडौँ- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगाउन वैज्ञानिकहरुको एक समूहले विकास गरेको भ्याक्सिन पहिलोपटक मानिसमा परीक्षण गरिएको छ ।

समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार वासिङ्टनको सियटल सहरमा रहेको केसर परमानेन्ट अनुसन्धान केन्द्रमा चार जनामा खोप परीक्षण गरिएको हो ।

यो खोपले कोरोना भाइरसविरुद्ध काम गर्छ कि गर्दैन भन्ने यकिनबारे पत्ता लगाउन अझै केही महिना लाग्ने विज्ञहरुले बताएका छन् ।

कोरोनाविरुद्धको खोप लिने पहिलो व्यक्ति दुई सन्तानकी ४३ वर्षीया महिला जेनिफर हालर रहेकी छिन् । ‘यो मेरा लागि केही गर्न उत्साहजनक अवसर हो’, जेनिफर हालेरले समाचार संस्था एपीसँग भनेकी छन् ।

विश्वभरका वैज्ञानिकहरु भाइरसविरुद्धको खोप उत्पादन गर्न फास्ट ट्रयाक शैलीमा अनुसन्धानमा जुटिरहेका छन् ।

अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागिएको परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवी सहभागी भएका छन् ।

पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोपको मात्राले प्रतिरक्षा प्रणाली कुनै प्रतिक्रिया देखिएको वा नदेखिएको बारेमा परीक्षण हुनेछ । परीक्षण गर्न
लागिएको भ्याक्सिनलाई एमआरएनए-१२७३ [mRNA-1273] को नाम दिइएको छ ।

वैज्ञानिकहरुले सो भ्याक्सिनको सफल परीक्षण भए सेवाग्राहीले प्रति भ्याक्सिन एक सय डलर तिर्नुपर्ने बताइएको छ । एजेन्सी

#फोटोः टेड एस.वारेन (एपी)

तपाईको प्रतिक्रिया