चितवन- पूर्वी चितवनको पर्यटकीय नगरी सौराहामा सिटी हल निर्माण सुरु भएको छ । नेपाल सरकारले ३५ करोडको लगानीमा निर्माण सुरु गरेको सो सिटी हलको मंगलबार पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले शिलान्यास गरे ।

पाण्डेले शिलान्यास गरेसँगै सिटी हलको निर्माणकार्य सुरु भएको हो । नेपाल सरकार सहरी विकास मन्त्रालयले सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत सिटी हल निर्माण सुरु भएको हो ।

सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले भवन निर्माण सुरु गरेको छ । ३५ करोड २२ लाख ७० हजारको लगानीमा एक हजार क्षमताको सिटी हल निर्माण हुने सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले जानकारी दिए ।

उनले एउटा एक हजार क्षमताको ठूलो सिटी हलसँगै ५० जना अट्ने अर्को भवनसहित मिटिङ हलसमेत निर्माण हुनेछ । रेलीगेर कन्स्ट्रक्सन प्रालि ललितपुरले निर्माणको जिम्मा पाएको छ ।

सिटी हलको शिलान्यास गर्दै पूर्वअर्थमन्त्री पाण्डेले सिटीहल निर्माण पछि सौराहाको पर्यटनले गतिलिने बताए । सिटी हलले यहाँको सामाजिक तथा आर्थिक विकाससँगै सौराहाको पर्यटनलाई थप विकसित बनाउने विश्वास व्यक्त गरे ।

प्रदेश सांसद् कृष्णप्रसाद खनालले सौराहामा निर्माण हुने सिटी हलले समग्र जिल्लाको पर्यटन विकासमा प्रभाव पार्ने बताए । कार्यक्रममा रत्ननगरका मेयर नारायण वनले सिटीहल सौराहाको पर्यटन विकासका लागि कोशेढुंगा साबित हुने बताए ।

रत्ननगर नगरपालिकाले अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याएको ठाउँमा सरकारले सिटी हल निर्माण सुरु गरेको हो । मेयर वनले नगरपालिकाले संरक्षण गरेको सार्वजनिक जग्गामा ठूला आयोजना निर्माणको काम सुरु भएको भन्दै खुसी व्यक्त गरे ।

कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी, वडा नं ७ का वडाध्यक्ष राजन भट्ट, नेकपाका नगर अध्यक्ष कुलप्रसाद लामिछाने, नेपाली काँग्रेसका नगर सभापति रुपनराज घिमिरेलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा रत्ननगरका प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेलसहित वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सौराहाका पर्यटन व्यवसायी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया