-राजु गिरी
पोखरा- नेपालको दोस्रो पर्यटकीय आकर्षणको केन्द्र पोखराको लेकसाइडमा अहिले कोरोना भाइरसको प्रभावका कारण नकारात्मक असर परिरहेको छ । आन्तरिक तथा बाह्य पर्यटकको भीड भैरहने यस क्षेत्र अहिले सुनसानजस्तै भएको छ । विशेष गरी यहाँका होटल व्यवसायीलाई भने निकै असर परिरहेको छ । होटलका कर्मचारीलाई पाल्न पनि नसक्ने स्थिति सिर्जना भैरहेको यहाँका होटल व्यवसायीको भनाइ छ ।

होटलमात्र नभई अन्य व्यवसायलाई ठूलै असर परिरहेको छ । न पर्यटक छन् न व्यापार छ । आन्तरिक पर्यटक देखिए पनि व्यापार भने नभएको हल्लनचोक फुट ट्रयाक नजिकैको सुप्रिना रेष्टुरेन्टका सञ्चालक अमृत शर्मा बताउँछन् । उनी भन्छन्– ‘व्यापार गरिदिने विदेशी पर्यटक देखिनै छोडे, आन्तरिक पर्यटकको पनि चहलपहल घटेकाले व्यवसायनै ठप्प छ ।’

चार वर्षदेखि निरन्तर सोही स्थानमा रेष्टुरेन्ट संचालन गर्दै आएका उनी यस्तो अवस्था आउला भन्ने नसोचेको बताउँछन् । यस्तै अवस्था आयो भने बैंकबाट धेरै ऋण लिएर होटल तथा रेष्टुरेन्ट संचालन गर्ने संचालकहरुको आत्महत्या गर्ने अवस्था आउनसक्ने उनी बताउँछन् । उनी भन्छन्– ‘हामी सानोसानो व्यवसायीलाई त्यति फरक नपारे पनि ठूला व्यवसायीलाई झन् ठूलो असर परेको छ । राज्यले यस विषयमा गम्भीर भएर कदम चाल्नुपर्छ ।’

त्यस्तै, कोरोनाले हल्लनचोक नजिकै पोखरा महानगरपालिकाद्वारा संचालित फेवाताल भ्यु प्वाईन्टलाई पनि असर पारेको छ । फेवातालको भ्यु हेर्नको लागि दैनिक ५ सयदेखि ७ सय जनासम्म टिकट काटेर हेर्न आउनेमा अहिले १५० जना पनि नआउने टिकट काउन्टरले जानकारी दिएको छ ।

कोरोना भाइरसको असर डुङ्गा व्यवसायीलाई पनि परेको छ । हल्लनचोक स्वीमिङपुल घाटमा अहिले दिनभर पर्यटक कुरेर मात्रै बस्नुपरेको डुङ्गा व्यवसायीहरु बताउँछन् । हल्लनचोक स्वीमिङपुल घाट डुङ्गा व्यवसायी समितिका सदस्य षडानन्द श्रेष्ठका अनुसार डुङ्गा सयर गर्ने पर्यटक नहुँदा व्यवसायी ठुलो मारमा परेका छन् ।

श्रेष्ठ भन्छन्– ‘दैनिक ६० देखि ७० वटा डुङ्गा चल्थ्यो तर अहिले मुस्किलले १० वटा, १२ वटा डुङ्गा यहाँबाट जाने गरेको छ ।’ उक्त घाटमा ९२ वटा डुङ्गा संचालनमा छन् । एउटा डुङ्गा महिनामा १२ देखि १५ पटकसम्म पालो आउने गरेपनि अहिले ५ पटक पनि पालो नआउने श्रेष्ठ बताउँछन् ।

त्यसैगरी कोरोना भाइरसको असर ट्याक्सी व्यवसायीलाई पनि परेको सार्वजनिक ट्याक्सी चलाउँदै आएका राजु थापा बताउँछन् । यात्रुको चहलपहलनै नभएको हुँदा दिनभरिमा एकादुई यात्रुमात्र आउने गरेको उनी बताउँछन् ।

पर्यटकको चहलपहल भैरहने पोखरामात्र नभई अहिले विश्वभरि नै कोरोनाको कहर व्याप्त छ । यदि यसरी नै लामो समय कोरोना भाइरसको समाधान ननिस्कने हो भने बैंकको ऋणमा संचालन गरिएका होटल तथा रेष्टुरेन्टहरु बैंकको जफतमा पर्ने देखिएको छ ।

यस्तो अवस्था आउन सक्ने र व्यवसाय पूर्णरुपमा खस्किएकाले पोखराका पर्यटन व्यवसायीको टोलीले संघीय सरकारसमक्ष ज्ञापन पत्रसमेत बुझाइसकेका छन् । बैंकबाट ठूलो ऋण लिएर व्यवसाय सुरु गरेको उल्लेख गर्दै कर्जाको पुनर्तालिकीकरण गर्नुपर्ने, संकट व्यवस्थापन कर्जाको व्यवस्था गर्नुपर्ने, पुनर्कर्जाको माध्यमबाट व्याजदर घटाउनुपर्ने, जरिवाना, विलम्ब शुल्क हटाउनुपर्ने माग गरेको छ ।

व्यवसायीले विभिन्न शीर्षकमा तीनवटै सरकारलाई बुझाउनुपर्ने कर तथा राजश्वमा ५० प्रतिशत छूटको व्यवस्था गर्नुपर्ने, विद्युत महसुलमा सहुलियत प्रदान गर्नुपर्ने, घरभाडा तथा घरबहाल करमा ५० प्रतिशत छूटको व्यवस्था गर्नुपर्ने तथा प्रत्येक प्रदेशमा कोरोना भाइरस संक्रमितलाई भरपर्दो तथा विश्वासिलो क्वारेन्टाइन सेन्टरको व्यवस्था गर्नुपर्ने लगायत व्यवसायीको टोलीले ज्ञापनपत्रमार्फत माग गरेको छ ।

तपाईको प्रतिक्रिया