तनहुँ । तनहुँको व्यास नगरपालिकाले कोरोना भाइरसविरुद्ध सचेतना फैलाउने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरससम्बन्धी चेतनामूलक जानकारी दिने उद्देश्यका साथ नगरपालिकाको हाताभित्र सोमबारदेखि सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।

सहायता कक्षबाट नगरपालिकामा आउने सेवाग्राहीलाई कोरोना भाइरसको सङ्क्रमणबाट बच्न चेतनामूलक पोष्टर, पम्प्लेट वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए । “कोरोना भाइरसका कारण नगरवासीमा त्रास पनि छ, यसबाट आत्तिनुपर्दैन”, उनले भने, “यसबाट बच्ने उपायबारे जानकारी प्रदान गर्ने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याएका छौँ ।”

कोरोना भाइरस श्वासप्रश्वासबाट फैलने मात्र नभई हात मिलाउँदा, नजिकै बस्दा, हिँडडुल गर्दा, बोल्दासमेत हावाका माध्यमबाट सर्ने हुँदा यस्ता क्रियाकलापमा सजग रहन नगरवासीलाई अनुरोध गरिएको छ । नगरपालिकाले भाइरसको सङ्क्रमणबाट बच्न ‘नमस्कार गरौँ’ अभियान पनि सञ्चालन गरेको छ ।

हात मिलाउँदा भाइरसको सङ्क्रमण हुने सम्भावना भएकाले हात नमिलाई नमस्कार गर्ने परम्परा सुरुआत गर्न सचेतना जगाउने खालका कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । नगरपालिकाले भीडभाडयुक्त स्थानमा नजान, रुघाखोकी लागेमा माक्सको प्रयोग गर्न, साबुनपानीले हात धुनसमेत नगरवासीमा आग्रह गरेको छ ।

सचेतना जगाउन सार्वजनिक स्थानमा पम्लेट

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० विरुद्ध सचेतना जगाउन टिम नेपो तनहुँले सार्वजनिक स्थानमा पम्लेट टाँसेको छ । उक्त संस्थाले सर्वसाधारणको बढी चहलपहल हुने विभिन्न ३२ स्थानमा कोरानो भाइरसविरुद्ध सचेतनामूलक सामग्री भएको पम्लेट टाँस गरेको हो ।

कोरोना भाइरसबारे सर्वसाधारणलाई जानकारी दिने र उक्त भाइरसको सङ्क्रमणबाट बच्न आह्वान गर्दै चेतनामूलक सामग्री टाँस गरिएको संस्थाका अध्यक्ष सुजन लौडारीले जानकारी दिए । उनका अनुसार नगरपालिका, विभिन्न विद्यालय, क्याम्पस, चलचित्र हल, उद्यान, पञ्चायन मन्दिर, वडा कार्यालयलगायतका स्थानमा सामग्री टाँसिएको छ ।

तपाईको प्रतिक्रिया