
चितवन- चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न खुल्ला तथा वडास्तरीय प्रथम गौतमबुद्ध कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि भरतपुर ४ ले जितेको छ । निर्माणाधीन रंगशाला सहयोगार्थ आयोजना गरिएको प्रतियोगिताको बुधबार सम्पन्न फाइनलमा वडा नं-२० लाई हराउँदै ४ ले उपाधि जितेको हो ।
फाइनलमा भरतपुर ४ ले २० लाई २७ रनले पराजित रेको हो । भरतपुर-४ ले दिएको १६० रनको लक्ष्य पछ्याएको भरतपुर-२० ले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १३२ रनमात्र बनायो । भरतपुर २० विरुद्ध भरतपुर ४ का चिरन श्रेष्ठ एक्लैले ५ विकेट लिए । ४ ओभर बलिङ गरेका श्रेष्ठले २६ रन खर्चिए ।
त्यसअघि नमुना मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको भरतपुर-४ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । उसका लागि चिरन श्रेष्ठले १७ बलमा २७ रन बनाए ।
विजेता बनेको भरतपुर-४ ले नगद ७० हजारसहित ट्रफ्री प्राप्त गरेको छ भने उपविजेता बनेको भरतपुर-२० ले ३५ हजार रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका भरतपुर-४ का चिरन श्रेष्ठ म्यान अफ दी सिरिज घोषित भए । उनले नगद ७ हजार रुपैयाँ प्राप्त गरेको प्रतियोगिता संयोजक पुष्पराज आचार्यले जानकारी दिए ।
यस्तै, भरतपुर-२० का सन्तोष न्यौपाने उत्कृष्ट ब्याट्सम्यान र २० कै हेमराज पौडेल उत्कृष्ट बलर घोषित भए । उनीहरुले जनही ४/४ हजार रुपैयाँ प्राप्त गरे । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि धुर्मुस-सुन्तली फाउन्डेसनकी उपाध्यक्ष कुन्जना घिमिरे (सुन्तली), पूर्वराष्ट्रिय कप्तान तथा क्यान चितवनका प्रमुख प्रशिक्षक राजु खड्का, सेन्ट्रल कलेफ अफ भोकेसनल ट्रेनिङ नारायणगढका निर्देशक जीवन लामिछानेलगायतले पुरस्कार वितरण गरेका थिए ।
रगंशाला निर्माण सहयोगार्थ आयोजित प्रतियोगितामा भरतपुरका विभिन्न वडा र क्लब गरी ३२ टोलीको सहभागिता रहेको थियो । रगंशालालाई केही दिनभित्रै सहयोग रकम हस्तान्तरण गरिने आयोजक चितवन आदर्श युवा क्लबका अध्यक्ष उमाकान्त आचार्यले बताए ।