चितवन- धुषा र डाँडा गाउँका भिरालो बारीको ससाना पटामा हरियाली काँक्रोको लहराले झपक्कै ढाकेको छ । चितवनको पहाडी भेग इच्छाकामना गाउँपालिका–३ को सीमान्तकृत चेपाङ समुदायको ती क्षेत्रमा बाक्लो बस्ती रहेको छ । ती गाउँका ती समुदाय यति बेला काँक्रोलाई थाक्रा हाल्न व्यस्त छन् । अहिले बेमौसमी काँक्रो खेतीको मौसम हो ।

गिठा र भ्याकुर खोजेर खाने तथा खोरिया फाँडेर कोदो मकै लगाएर जीवन निर्वाह गर्ने ती समुदायको आजभोली दिनचर्या फेरिएको छ । इच्छाकामना गाउँपालिका–३ धुषाका सिद्धान्त चेपाङले यस वर्ष पनि बारीमा काँक्रो लगाएका छन् । गत वर्ष उनले लागत खर्च कटाएर रु एक लाख आम्दानी गरे । साथै, सिजनअनुसार अन्य तकारी खेती पनि लगाउने गरेको उनले जानकारी दिए । उनले तरकारी खेतीबाटै परिवारको पालनपोषणसमेत गर्दै आएका छन् । ससाना भैपरी आउने खर्चका लागि कसैलाई गुहार्नु परेको छैन ।

वडा नम्बर ३ का वडासदस्यसमेत रहेकी डम्मरीकुमारी चेपाङले पनि गत वर्ष रु एक लाख ५० हजारको काँक्रोमात्र बेचिन् । उनका अनुसार धुषा गाउँमा ५३ घरधुरी चेपाङ छन् । अधिकांशले तरकारी खेती गर्छन् । यहाँका केही किसानले तरकारी खेतीबाट वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्छन् । आफू जनप्रतिनिधि भएकाले तरकारी खेतीमा मात्र ध्यान दिन नपाएकाले अरुले जति आम्दानी गर्न नसकिएको उनले बताए ।

उनले भने, “म जनप्रतिनिधि भएकाले चारैतिर पुग्नुपर्छ, बचेको थोरै समयमा काम गर्दा पनि गत साल रु एक लाख ५० हजार जतिको काँक्रोबाट आम्दानी गरें, यहाँका किसानले वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्छन् ।” उनका अनुसार तरकारी खेतीको आम्दानीबाटै यहाँका चेपाङ समुदायले दैनिक गुजारा चलाउने गर्छन् ।

तरकारी खेती सुरु गरेसँगै ती समुदायको व्यस्तता पनि बढेको छ । विगतमा जस्तो सभा समारोह विभिन्न कार्यक्रममा ती समुदाय त्यति सहभागी हुँदैनन् । वडासदस्य डम्मरकुमारी चेपाङले भने, “पहिला पहिला सानो कार्यक्रम हुँदा पनि गाउँ नै रितो हुने गरी जाने गथ्र्यो,अहिले केही कार्यक्रम भयो भने घरघर लिन जानपर्छ प्रायः काममा व्यवस्त भेटिन्छन् ।” अहिले गाउँमै सडक पुगेपछि उनीहरुलाई बजारसम्म तरकारी लैजान सजिलोसमेत भएको छ ।

वडा नम्बर ६ का चेपाङ पनि व्यवसायी तरकारी खेतीमा सक्रिय रहेको वडाध्यक्ष भूपेन्द्र चेपाङ बताउँछन् । वडा र गाउँपालिकासँगै विभिन्न सङ्घसंस्थाले तरकारी खेतीका लागि विभिन्न समयमा तालीम प्रदान गर्ने गरेको कारण चेपाङ समुदाय पछिल्लो समय व्यवसायीरुपै तरकारी खेतीमा आकर्षित भएको उनले बताए ।

यहाँ दुर्गम बस्तीमा सडक र पानीको अभावमा अझै किसान व्यवसायी बन्न नसकेको पनि उनको भनाइ छ । यहाँका ती समुदायले तरकारी खेती सँगसँगै आर्थिक आम्दानीका लागि बाख्रा र भैँसी पनि पाल्ने गरेका छन् । इच्छाकामना गाउँपालिकामा ती समुदायको बाहुल्यता रहेको छ । पछिल्लो जनगणना २०६८ अनुसार २५ हजार १२ जनसङ्ख्या रहेको यस गाउँपालिकामा ती समुदायको बाहुल्यता रहेको छ ।

तपाईको प्रतिक्रिया