चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले कोरोनासम्बन्धी सचेतनाका लागि दुई ठाउँमा हेल्थ डेस्क स्थापना गरेका छन् । गाउँपालिका कार्यालय परिसर कुरिनटार र मनकामना केवलकारको बटम स्टेशन चेरेशमा स्वास्थ्य हेल्थ डेस्क आजदेखि सञ्चालनमा ल्याएको हो ।

मनकामना केबलकारमा एक जना स्वास्थ्यकर्मी उपलब्ध गराई सहयोग गरिएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक वासुदेव सापकोटाले जानकारी दिए ।

गोरखाको शहीद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा स्वदेशी तथा विदेशी गरी दैनिक हजारौँ दर्शनार्थी केवलकार चढेर जाने गर्दछन् । त्यसैलाई मध्यनजर गर्दै हेल्थ डेस्क सञ्चालनका लागि गाउँपालिकाले स्वास्थ्यकर्मी उपलब्ध गराई सहयोग गरिएको संयोजक सापकोटाले बताए ।

स्वास्थ्यकर्मीसँगै नेपाल सरकार स्वास्थ्य मन्त्रायबाट जारी गरेको कोरोना सचेतनामूलक नारासहितको पर्चासमेत उपलब्ध गराएका छन् ।

गाउँपालिकाभित्रका राजमार्गका होटलमा सचेतनामूलक कार्यक्रमका साथै सचेतनामूलक माइकिङसमेत गर्न शुरु गरिएको संयोजक सापकोटाले जानकारी दिए ।

हेल्थ डेस्कमार्फत स्वास्थ्य जाँचसहित कोरोनासम्बन्धी सचेतनामूलक जानकारी गराउने संयोजक सापकोटाको भनाइ छ । शङ्कास्द व्यक्तिलाई परीक्षणका लागि अस्पतालमा पठाइने उनले बताए ।

मनकामना दर्शन प्रालिले मन्दिर दर्शन गर्न जाने दर्शनार्थीका लागि दुर्ई हप्ताअघिदेखि नै एकजना स्वास्थ्यकर्मी राखी केवलकार चढ्नुअघि स्वास्थ्य जाँच गरिँदै आएको छ ।

अहिलेसम्मको जाँचको क्रममा कोरोनाको शङ्कास्पद व्यक्ति नभेटिएको मनकामना दर्शनप्रालिका नायब महाप्रबन्धक डिल्लीनारायण कायस्थले बताए ।

तपाईको प्रतिक्रिया