चितवन । भरतपुर महानगरमा ७२ घन्टा लगाएर कोरोना विशेष अस्थायी अस्पतालबाट सेवा शुभारम्भ भएकै दिन शुक्रबार रत्ननगरमा पनि अस्थायी अस्पताल निर्माण भएको छ ।

पूर्वी चितवनलाई लक्षित गर्दै रत्ननगर १४ स्थित गुञ्जमान अस्पतालमा कोरोनाको अस्थायी अस्पताल निर्माण गरिएको हो । सो अस्पताल १२ घन्टामै तयार पारिएको हो ।

गुञ्जमान अस्पतालमा २० शैय्याको कोरोना उपचारको अस्थायी अस्पताल निर्माण गरिएको रत्ननगरका मेयर नारायण वनले बताए । कोरोनाको विश्वव्यापी महामारी भइरहेको अवस्थामा शंकास्पद बिरामी आएको खण्डमा उपचारका लागि तयारी अवस्थामा स्वास्थ्यकर्मीसमेत उनको भनाइ छ ।

अस्थायी अस्पतालको प्रदेश सांसदहरु कृष्णप्रसाद खनाल, कञ्चन खनाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, मेयर वन, उपमेयर विमला दुवाडी, खैरहनीका उपमेयर सुनिता थपलिया, नेपाली कांग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरेलगायतको टोलीले निरीक्षण गरेको थियो ।

कोरोना अस्पताललाई आवश्यक पर्ने डाक्टर तथा स्वास्थ्यकर्मीहरु रत्ननगर अस्पताल र गुन्जमान अस्पतालबाट व्यवस्था गरिने प्रवक्ता राजेन्द्र हमालले जानकारी दिए ।

अस्थायी कोरोना अस्पतालको निरीक्षणका क्रममा प्रजिअ भट्टराईले कोरोना अस्पतालको लागि आवश्यक पर्ने डाक्टर र स्वास्थ्यकर्मीको अभाव नहुने बताए । सो टोलीले रत्ननगर अस्पतालको समेत अवलोकन गरेको थियो ।

रत्ननगरमा कोरोना रोकथाम र तयारीस्वरुप तीनवटा आइसोलेसन वार्ड, ज्वरो क्लिनिक स्थापना गरिसकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले बताए ।

तपाईको प्रतिक्रिया