काठमाडौँ । नोबेल कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राखेर गोँगबुस्थित नयाँ बसपार्कमा सहायता कक्ष ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ ।
स्वास्थ्य सेवा विभाग, काठमाडौँ महानगरपालिका–२६ र नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउदेश्यीय प्रालिको सक्रियतामा आज नयाँ बसपार्कमा हेल्थ डेक्स स्थापना गरिएको हो । नयाँ बसपार्कमा हेल्थ डेक्सको स्थापनासँगै कोरोनाको त्रासमा रहेका यात्रुलाई राहत मिलेको छ ।
ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवरले कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नयाँ बसपार्कमा हेल्थ डेक्स स्थापना गरिएको बताए । उनले भने, “सार्वजनिक बसमा एकैपटक धेरै यात्रु ओहोरदोहोर गर्ने भएकाले ज्वरोलगायत विभिन्न रोग परीक्षणका लागि हेल्थ डेक्सले सहयोग पुग्नेछ ।”
काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले मुलुककै राष्ट्रिय बसपार्कका रुपमा रहेको नयाँ बसपार्कबाट आवतजावत गर्ने यात्रुको स्वास्थ्य परीक्षणमा हेल्थ डेक्सले सहयोग पुग्ने बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले हेल्थ डेक्सको स्थापनासँगै काठमाडौँ भित्रिने तथा बाहिरिने यात्रुको स्वास्थ्य परीक्षणमा सहयोग पुग्ने बताए ।
नयाँ बसपार्कमा दैनिक उपत्यकाबाहिर विभिन्न जिल्लाबाट एक हजारभन्दा बढी सार्वजनिक यातायात आवतजावत गर्दै आएको प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बताए । ल्होत्से बहुउद्देश्यीय प्रालिले यसअघि ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालको सहकार्यमा नयाँ बसपार्कभित्र चालक, सहचालक तथा यात्रुलाई निःशुल्क परामर्श तथा स्वास्थ्य जाँच गर्दै आएको थियो ।












