चितवन । नेपाल चलचित्र कलाकार संघको टोलीलाई चितवनमा स्वागत गरिएको छ । लक्की मिडिया हाउसद्वारा भरतपुरमा आयोजित एक कार्यक्रममा उनीहरुलाई भब्य स्वागत गरिएको हो ।

टोलीमा संघका अध्यक्ष रवीन्द्र खड्का, उपाध्यक्ष एवं प्रवक्ता मोहन निरौला, महासचिवमा तेजबहादुर सिंह ‘राजा’ र केन्द्रीय सदस्य रामेश्वर बुर्लाकोटी रहेका छन् । उनीहरुलाई लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले स्वागत गरेका थिए । स्वागतपश्चात् चलचित्र क्षेत्रका समस्या, चिन्ता र चासोको बारेमा छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले पछिल्लो समय चलचित्र क्षेत्र धराशायी हुंँदा आम कलाकारहरुलाई समस्या भएको बताए । कलाकार देशका गहना रहेको बताउंँदै उनले कलाकारको प्रतिभा र योगदानलाई कदर गर्नुपर्नेमा जोड दिए ।

संघका महासचिव सिंहले कलाकारले देशका सामाजिक र सांस्कृतिक क्षेत्रमा उल्लेखनीय योगदान रहेको बताए । कलाकारबाट देशलाई चिनाउन सहयोग पुग्ने भन्दै उनले उनीहरुको योगदानलाई राज्यले भुल्न नहुने बताए ।

कलाकार र चलचित्र क्षेत्रको सम्बन्ध नङ्ग र मासुको रहेकोले आम दर्शक श्रोताले नेपाली चलचित्रलाई माया गर्नुपर्ने उनको भनाइ थियो । आगामी दिनमा संख्यात्मकभन्दा गुणात्मक चलचित्र बनाउन जोड दिनुपर्ने उनीहरुको धारणा थियो ।

तपाईको प्रतिक्रिया