अमेरिका । नेपाली समुदायले अमेरिकामा व्यवसाय विस्तार गर्ने क्रम बढिरहेको छ । उनीहरुले स्टोर, व्युटी सैलुनदेखि होटलसम्म लगानी विस्तार गरेका छन् । यसै क्रममा टेक्ससमा व्यवसाय गर्दै आएका व्यवसायीले अमेरिकाको तेल उत्पादन हुने मुख्य क्षेत्रमा होटलमा लगानी गरेका छन् ।कर्नेस सिटीस्थित लाकुन्ता इन एण्ड सुईट्स यसै साता नेपाली व्यवसायीले खरिद गरेका हुन् । ६९ कोठाको उक्त होटल तेल उत्पादन गर्ने मुख्य क्षेत्रमा रहेको छ ।‘लगानी विस्तार गर्ने क्रममा तेल व्यवसायका कारण आर्थिक क्रियाकलाप विस्तार भइरहेको कर्नी सिटीको यो होटलमा हामीले लगानी गरेका हौँ’, व्यवसायी विकल ढकालले भने । ढकालले यसअघि टेक्ससको डलासमा स्टोरलगायतमा लगानी गर्दै आएका थिए ।

अर्का व्यवसायी एवं पत्रकार विकासराज न्यौपाने पनि होटलका साझेदार हुन् । ‘यो हाम्रो नयाँ सुरुआत हो तर, यो क्रम यही रोकिने भन्ने छैन’, न्यौपानेले भने, ‘हामी अझै नयाँ होटललगायत व्यवसाय थप्ने क्रममा छौँ ।’ यो लगानीसँगै आफूले व्यवसाय पनि विविधिकरण गरेको उनको भनाइ छ ।

उक्त होटलमा करिब ७० लाख अमेरिकी डलर लगानी भएको अर्का व्यवसायी विकासराज न्यौपानेले बताए ।

‘व्यवसायमा यत्रो लगानी गर्दा जोखिम त हुन्छ’, विकलले भने, ‘तर, वित्तीय तथ्यांकहरु राम्रोसँग विश्लेषण गरेका कारण हामीले त्यस्तो नोक्सानी हुने कुनै सम्भावना देखेका छैनौँ ।’

कोरोना भाइरसलगायतले व्यवसायमा केही सुस्तता देखिए पनि यो लगानी गर्ने उपयुक्त समय पनि भएको विकलले बताए । ‘राम्रो समय त आइहाल्छ, यसका लागि हामीले तयारी गर्दैछौँ’, उनले भने ।

होटलको वित्तीय विवरण, अकुपेन्सीलगायत आम्दानी राम्रो रहेको उनले बताए । लाकुन्ता होटल फ्रन्चाईजी हो ।अमेरिकामा यस ब्राण्डका हज्जारौँ होटल छन् ।

उक्त होटलले सन् २०१६ बाट व्यवसाय सुरु गरेको थियो । यो होटल कर्नेस सिटी, करपस क्रिष्टी र सनएन्टीनोको बीचमा रहेको छ । जसले गर्दा टेक्ससको समुद्र भएको सहर करपस क्रिष्टी र सनएन्टीनो घुम्न आउने पर्यटकका लागि पनि यो होटल बसाइँका लागि उपयुक्त हुने विश्वास सञ्चालक न्यौपानेको छ ।

तपाईको प्रतिक्रिया