सिन्धुली । सिन्धुली जिल्ला अस्पतालमा कोभिड–१९ को आशंकमा आइसोलेशनमा राखेर उपचार गरिएका एक जना बिरामीमा कोरोना नभएको पुष्टि भएको छ ।

काठमाडौँ टेकुस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा इन्फ्लुएञ्जा ए पोजेटिभ र कोभिड–१९ नेगेटिभ भेटिएको अस्पतालका प्रवक्ता डा प्रसन्न राजभण्डारीले जानकारी दिए ।

गत बुधबार ज्वरो अत्याधिक आएपछि अस्पतालमा ल्याइएका कमलामाई नगरपालिका–७ का ८१ वर्षीय वृद्धलाई अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको थियो ।

यसैबीच, सिन्धुली अस्पतालले फिबर क्लिनिक आइतबारदेखि सञ्चालन हुने भएको छ । खोकी तथा ज्वरो आएका बिरामीको उपचार छुट्टै गर्ने व्यवस्था मिलाइएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद पोख्रेलले जानकारी दिए । अस्पतालले कोरोनाको जोखिम हुन नदिन यसअघि साबुनपानीले हात धुने व्यवस्था मिलाएको थियो ।

शुक्रबार सहायक प्रजिअ विजया प्रसाईंको नेतृत्वमा बसेको सरोकारवाला निकायको बैठकले कमलामाई नगरपालिका–६ माझिटारमा खाली रहेको भूसंरक्षणको कार्यालयलाई क्वारेन्टाइनस्थल बनाउने निर्णय गरेको हो ।

बैठकले जिल्लाका सबैै स्थानीय तहको समन्वयमा सचेतनामूलक अभियानहरू सञ्चालन गर्ने, कोरोना भाइरस जोखिम रोकथाम तथा बच्ने उपायसहित पर्चा, पम्प्लेटजस्ता सामग्रीका माध्यमबाट प्रचारप्रसारको अभियान चलाउने निर्णय पनि गरेको छ ।

तपाईको प्रतिक्रिया