काठमाडौँ । कोरोना भाइरसको महामारी विश्वभर १९२ देशमा फैलिएको छ भने सोमबार दिउँसोसम्म १४ हजार ७०४ जनाको मृत्यु भएको छ ।

यस महामारीबाट ३ लाख ३९ हजार ५३० जना संक्रमित भएकोमा ९९ हजार १४ जना बिरामी उपचारपश्चात् अस्पतालबाट घरघरमा फर्किएका छन् । विश्वभर २ लाख २५ हजार ८१२ जना बिरामीको उपचार जारी छ । जसमा १० हजार ५५३ को अवस्था गम्भीर रहेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

चीनमा हालसम्म ८१ हजार ९३ व्यक्ति यो भाइरसबाट संक्रमित भएकोमा ज्यान गुमाउनेको संख्या ३२७० पुगेको छ । चीनमा ५१२० जनाको उपचार जारी छ । जसमध्ये १७४९ को अवस्था गम्भीर छ । चीनले सबै प्रकारका उपाय अवलम्बन गरी यस महामारी नियन्त्रणमा ल्याउन सफल भएको छ । यस्तै, ७२ हजार ७०३ जना उपचारपश्चात् स्वास्थ्यलाभ गरिरहेका छन् ।

इटालीमा ५९ हजार १३८ जना संक्रमित भएकोमा ५४७६ जनाको ज्यान गएको छ । यस्तै, अमेरिकामा ३५ हजार ६० व्यक्ति संक्रमित भएकोमा ४५७ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा एकै दिन सोमबार ३८ जनाको ज्यान गएको छ ।

स्पेनमा २८ हजार ७६८ व्यक्ति संक्रमित छन् भने हालसम्म १७७२ जनाले ज्यान गुमाएका छन् । जर्मनीमा २४ हजार ८७३ संक्रमित छन् भने ९४ जनाको मृत्यु भएको छ ।

इरानमा २१ हजार ६३८ जना संक्रमित भएकोमा १६८५ जनाले ज्यान गुमाएका छन् । फ्रान्समा १६ हजार १८ जना प्रभावित रहेकोमा ६७४ जनाले ज्यान गुमाएका छन् ।

दक्षिण कोरियामा ८९६१ जना कोरोनाबाट प्रभावित छन् भने १११ जनाको मृत्यु भएको छ । स्वीट्जरल्याण्डमा ७४७४ संक्रमित छन् भने ९८ जनाको ज्यान गएको छ । युकेमा ५६८३ व्यक्ति संक्रमित भएकोमा २८१ जनाको मृत्यु भएको छ । बेल्जियममा ३४०१ संक्रमित भएकोमा ७५ जनाको मृत्यु भएको छ ।

यस्तै, जापानमा ११०१ संक्रमित छन् भने ४१ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा एक व्यक्तिलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको बताएको छ। उनी फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी १९ वर्षीया युवती भएको जानकारी मन्त्रायलले सोमबार आकस्मिक प्रेस सम्मेलन गरी जानकारी दिएको हो ।

केही साताअघि चीनको वुहानबाट फर्किएका एक व्यक्तिमा पनि सङ्क्रमण भएको देखिएको थियो । अहिले उनी स्वस्थ भइसकेको बताइएको छ । (स्रोत : बीबीसी नेपाली सेवा)

सुरक्षाको दृष्टिले सरकारले अतिआवश्यकीयबाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय गरेपश्चात् नागरिकहरु घरघरमा सीमित भइरहेका छन् । संघसंस्था, बजार, यातायात सबै क्षेत्र सुनसान भइसकेका छन् । एजेन्सी

तपाईको प्रतिक्रिया