काठमाडौँ । कोभिड–१९ (कोरोना भाइरस)को सम्भावित जोखिमका विरुद्ध एकाकार हुन सरकारले आम–सर्वसाधारणमा अनुरोध गरेको छ । सो भाइरसको जोखिम रहेको भन्दै सरकराले त्यसविरुद्ध लड्न सामूहिक प्रयासको खाँचो रहेको बताएको छ ।

सरकारले सेल्फ÷होम क्वारेन्टाइन प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकाल्दै कोरोना रोकथाममा सहयोग गर्नसमेत सार्वजनिक अपिल गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बनेको कोभिड–१९ को रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यसअघि विभिन्न मितिमा गरेको निर्णयको पालना गर्नसमेत गृहमन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

“रोगको प्रकोपबाट बच्न नेपालले पनि उच्च सतर्कता अपनाउनुपर्ने भएकाले उक्त निर्णयको सम्बन्धित पक्षबाट कार्यान्वयन भइरहेको छ, विश्व स्वास्थ्य सङ्गठनको भनाइ, छिमेकी मुलुकमा भएको सङ्क्रमण र खुला सीमानाका कारण नेपाल पनि उच्च जोखिममा रहेकाले भित्रिन नदिन थप सतर्कता अपनाउनुका साथै सरकारी निर्णयको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने हुन्छ”, गृहमन्त्रालयलले भनेको छ ।

सो मन्त्रालयले आइतबार साँझ एक विज्ञप्तिमार्फत १९ बुँदे निर्णय सार्वजनिक गर्दै सरकारले कोरोना भाइरसको संभावित जोखिमबाट बच्ने कार्यमा हातेमालो गर्न अनुरोधसमेत गरेको छ ।

कोरोना भाइरसको सम्भावित सङ्क्रमण हुन नदिन सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, खेलमैदान, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जनस्थल, डान्सबार तथा क्लबलाई चैत मसान्तसम्म बन्द गर्न भनिएको छ ।

अत्यावश्यकबाहेकका आवतजावत एवं हिँडडुल नगर्न अनुरोध गर्दै सरकारले सामाजिक, सांस्कृतिक र त्यस्तै कार्य मठमन्दिर, गुम्बा, मस्जिद, चर्च र पार्टी प्यालेसजस्ता सार्वजनिकस्थलमा २५ भन्दा बढी मानिस भेला नहुन पनि दोहो¥याएको छ ।

तपाईको प्रतिक्रिया