हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हीरा लुटपाटमा संलग्न रहेको आरोपमा तीन प्रहरी र एक जना पत्रकारलाई पक्राउ गरी सोमार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा आफूलाई पत्रकार बताउने ललितपुर महानगरपालिका भैँसेपाटी बस्ने वर्ष १९ का सुजन आचार्य, सुर्खेत वीरेन्द्रनगर–१२ बस्ने २६ वर्षीय प्रहरी सहायक निरीक्षक सुरेन्द्र बसेल, जाजरकोट शिवालय–२ बस्ने २७ वर्षीय वीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका–१ बस्ने २८ वर्षीय हिमकान्त पुन मगर रहेका छन् । पक्राउ परेकामध्ये आचार्य पत्रकार र तीन जना प्रहरी हुन् ।

मकवानपुर, कैलाश गाउँपालिका वडा नम्बर–५ चौकीटार, गोगनेकी धनलक्ष्मी गुरूङको घरमा हीरा खरिद गर्ने बहानामा पुगेका उनीहरुले आइतबार साँझ हीरा लुटपाट गरेका थिए । लुटपाट भएको खबरपछि खटिएको इलाका प्रहरी कार्यालय पालुङको टोलीले उनीहरुलाई पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

लुटपाटको खबरपछि खटिएको इलाका प्रहरी कार्यालय पालुङको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

प्रहरीले उनीहरुका साथबाट हीरा एक थान, लोड अवस्थामा रहेको पेस्तोल एक थान, सञ्चार सेट ४ थान, क्यामेरा एक थान, मेटल डिटेक्टर १ थान, मोबाइल ६ थान, ल्यापटप १ थान बरामद गरेको छ ।

प्रहरीले लुटपाटमा प्रयोग गरेको प्रदेश–३–०१–०१–००२२ च ३३६२ नम्बरको कारसमेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरुलाई चोरी तथा डाँका मुद्दाअन्तर्गत अनुसन्धान अघि बढाउने मकवानपुरका एसपीराठौरले बताए । प्रहरी र पत्रकारका मिलेमतोमा पदीय दुरुपयोग गरी डकैती गर्ने उनीहरु लोभमा फसेर कानुनको फन्दामा परेका हुन् ।

तपाईको प्रतिक्रिया