चितवन । चितवनको भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा मंगलबार मृत्यु भएका सन्तोष यादवमा कोरोना भाइरसको संक्रमण नभएको पाइएको छ ।

उनको नमूना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उनीसँगै अन्य शंकास्पद बिरामीहरुको पनि नतिजा नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

सोही अस्पतालमा उपचाररत अर्का एक र भरतपुर अस्पतालमा उपचाररत आठ जनाको पनि नतिजा नेगेटिभ आएको हो ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार कोरोना अस्पतालका अन्य चार जनाको नमुना परीक्षणका लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएको छ ।

वीरगञ्ज–२२ जगन्नाथपुरका ३० वर्षीय यादवको कोरोना अस्पतालमा उपचारका क्रममा मंगलबार विहान ९ः३० बजे मृत्यु भएको थियो ।

अस्पतालका अनुसार यादव पहिलेदेखि नै लुपस भन्ने रोगले मृगौलासमेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको लक्ष्ण भई कोरोना अस्पतालमा उपचारका लागि आएका थिए ।

चितवन मेडिकल कलेजबाट कोभिड–१९ को आशंकामा उनलाई रिफर गरिएको थियो । उनको मृत्युसँगै कोरोना हुन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको थियो ।

तपाईको प्रतिक्रिया