काठमाडौँ । नेपालमा थप एक अर्का व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको नमुना परीक्षण गर्दा अर्का एक व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना संक्रमणको एकजना बिरामी थपिएको स्वास्थ्य मन्त्रालयले समेत पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म ६८७ जनामा कोरोना संक्रमणको आशंका नमुना परीक्षण गरिएको थियो । जसमध्ये ३ जनामा पोजेटिभ देखिएको छ भने बाँकी ६८४ जनामा नेगेटिभ देखिएको छ ।

पहिलोपटक गत माघ ९ गते चीनबाट आएका एक जना नेपालीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।
दोस्रोमा चैत ४ गते फान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीया छात्रामा कोरोनाको संक्रमण देखिएको छ । ती युवतीको हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

पछिल्लोपटक पुनः एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उनी युएईबाट एअर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ (५३७) बाट चैत ६ गते राति १०ः२० बजे नेपाल उत्रिएर होटेलमा बसेको र मङ्गलबार टेकु अस्पतालमा भर्ना भई परीक्षणका क्रममा पोजेटिभ देखिएको हो ।

३२ वर्षीय ती युवा चैत ७ गते नै धादिङस्थित घर गएका थिए । ज्वरो आउने र खोकी लाग्ने भएपछि टेकु अस्पतालको आइसोसेलन वार्डमा भर्ना गरिएको र चैत ११ गते साँझ कोरोना पोजिटभ को रिपोर्ट आएको थियो ।

विश्वका १९४ देशमा विस्तार भएको कोरोना भाइरसको संक्रमणबाट करिब चार लाख २४ हजार प्रभावित भएकोमा एक लाख ९ हजारको उपचारपश्चात् निको भइसकेको छ भने २ लाख ९५ हजारको उपचार जारी छ । जसमध्ये १३ हजारको अवस्था गम्भीर छ ।

तपाईको प्रतिक्रिया