हेटौँडा । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनले हेटौँडा बजार आज दोस्रो दिन पनि सुनसान भएको छ । फाटफुट रुपमा केही मोटरसाइकल चले पनि सर्वसाधारण घर बाहिर निस्केका छैनन् । किनमेलका लागि खासगरी साँझ बिहानपख पसल खुल्ने र ग्राहकको भीड लागेको देखिन्छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीका टोली मुख्य बाटो तथा चोकमा सुरक्षका लागि खटिएका छन् । सडकमा जथाभावी हिँड्नेलाई घरमा बस्न सचेतसमेत गराइएको छ । उता कोरोना भाइरसको प्रकोपबाट सचेत रहन स्थानीय प्रशासन र हेटौँडा उपमाहानगरपालिकाले माइकिङ गरेका छन् ।

साथै स्थानीय प्रशासनद्वारा हेटौँडाका विभिन्न स्थानमा ५०० क्वारेन्टाइन कक्ष तथा अस्पतालमा उपचारका लागि व्यवस्था गरेको छ । त्यस्तै हेटौँडामा रहेको उद्योग, कलकरखाना तथा व्यावसायिक प्रतिष्ठानसमेत बन्द छन् । अलपत्र परेका लामो दूरीका सवारी साधनलाई जाने व्यवस्थासमेत गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया