चितवन । कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गर्ने घोषणा गरे पनि कतिपयले अटेरी गर्दै आएको पाइएको छ । सरकारले संक्रमित मुलुकबाट नेपाल आएका मानिसहरुको खोजी गर्दै क्वारेन्टाइनमा राख्दै आएको छ । संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा नसरोस् भन्ने उद्देश्यले सरकारले सबै क्षेत्र बन्द गरी एकसाता लकडाउन गर्ने निर्णय गरेको हो ।

विश्वव्यापी महामारी र विश्व स्वास्थ्य संगठनले दक्षिण एसियाली देशहरुमा यसको उच्च जोखिम रहेको चेतावनी दिएपछि सरकारले लकडाउन गर्ने निर्णय गरेको हो । तर, यसलाई बुझेर वा बुझ पचाएर पनि कतिपयले लकडाउनलाई मजाकका रुपमा लिएका छन् ।

लकडाउनको दोस्रो दिन देशभरि हजारौँ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ । कतिपय व्यक्तिलाई मौखिक चेतावनी दिइएको छ भने कतिपयलाई कुखुरा बनाएर कारबाही त कतिपयलाई एकहजार रुपैयाँ जरिवाना गरी छाडिएको छ ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय चितवनले पनि मातहतका इकाइबाट २२३ वटा सवारीलाई नियन्त्रणमा लिएको जनाएको छ । लकडाउन उल्लंघन गर्नेमा सबैभन्दा धेरै मोटरसाइकल चालक ररहेका छन् ।

प्रहरीले बुधबार एकैदिन १८३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । यस्तै, स्कुटी २४, ट्रक ६, अटो ६, ट्याक्टर ३, कार र बलेरो २,२, तथा एउटा म्याजिकलाई नियन्त्रणमा लिई पहिलोपटकका लागि सम्झाइबुझाइ गरी छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् डिएसपी एकनारायण कोइरालाले जानकारी दिए ।

यस्तै, जबर्जस्ती लकडाउन उल्लंघन गर्ने ३० जनालाई जिल्ला प्रशासन कार्यालय चितवनले कारबाही गरेको छ । कारबाही भोग्नेमा २९ जना पुरुष र एक महिला रहेका छन् । उनीहरुलाई प्रशासनले जनही एक हजार रुपैयाँ जरिवाना तिराएर छोडेको छ ।

यस्तै, प्रहरीले घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई समेत सम्झाइबुझाइ गरी घरतर्फ नै फर्काएको छ । अत्यावश्यक सेवा र पासका सवारी साधनमात्रै चल्न पाउने, अन्य सवारीसाधनलाई नचलाउन र सर्वसाधारणलाई घरबाट ननिस्कन प्रशासनले अनुरोध गरेको छ ।

यस्तै, चितवन प्रशासनले मलामी २५ जनाभन्दा बढी नजान सर्वसाधारणलाई भनिएको जनाएको छ । सरकारले २५ जनाभन्दा बढी एकै ठाँउमा भेला नहुन निर्देशन गरेकोले मलामी जानुपरेमा २५ जनाभन्दा बढी नजान अनुरोध गरिएको सहायक प्रजिअ नेत्र शर्माले बताए ।

कसैको मृत्यु भएर सागर जानुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयमा खबर गर्न पनि उनले आग्रह गरे । कोरोना भाइरसको संक्रमण फैलिन नपओस् भनेर सावधानी अपनाइएकोले यसमा सचेत बन्न प्रशासनले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया