चितवन । यही चैत ४ गते फ्रान्सबाट कतार हुँदै कतार एयरवेजमा नेपाल आएकी एक युवतीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएपछि उनीसँगै आएका चितवनका पाँच जना भरतपुरस्थित कोरोना विशेष अस्पतालको सम्पर्कमा आएका छन् ।
सम्पर्कमा आएकाहरुमा बुद्धिराज कोइराला, सञ्जु कँडेल कोइराला, शम्भु नेपाली, पार्वती नेपाली र सुरेश गुरुङ रहेको भरतपुर कोरोना अस्पतालले जनाएको छ । उनीहरुलाई आइसोलेसन वार्डमा राखिएको अस्पतालका प्रवक्ता डा भोजराज अधिकारीले जानकारी दिए ।
नेपाल प्रहरीले कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एयरवेजको विमानमा दोहाबाट नेपाल यात्रा गर्ने अन्य १२५ जना नेपालीको ठेगाना पत्ता लागेको बताएको छ ।
कोरोनाको आशंकामा टेकु अस्पतालमा चेकजाँच गर्दा कोरोना भाइरसको संक्रमण देखा परेपछि फ्रान्सबाट फर्किएकी युवतीको आइसोलेसनमा उपचार भइरहेको छ । प्रहरीले देशका विभिन्न भागमा रहेका उनीहरूलाई स्वास्थ्य जाँच र क्कवारेन्टाइनजस्ता थप सतर्कता अपनाउन आफूले मातहतका निकायलाई पत्राचार गरेको जनाएको छ ।
चैत ४ गतेको कतार एयरवेजका तीनवटा उडानमार्फत् ४६९ जना नेपाल आएका थिए । जसमा फ्रान्सबाट कतार हुँदै फर्किएकी ती १९ वर्षीया विद्यार्थी १५८ जना यात्रु बोकेको क्युआर ६५२ उडानमार्फत् आएकी थिइन् ।
सोही विमानबाट नेपाल फर्किएका अन्य यात्रुमा पनि कोरोना फैलिने सम्भावना भएकाले चितवन घर भएका छ जनालाई चितवन प्रहरीले खोजी गरेको थियो । जसमा पाँच जना सम्पर्कमा आएका छन् भने एक जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
एकै दिन २७ जनाले सेवा लिए
यसैबीच, चैत ७ गतेदेखि सेवा सुरु भएको भरतपुर कोरोना विशेष अस्पतालबाट बुधबारसम्म ८२ जनाले सेवा लिएका छन्। जसमध्ये बुधबारमात्रै २७ जना अस्पतालमा आएका हुन्। हाल कतार एयरवेजबाट नेपाल आएका पाँचसहित ११ जना अस्पतालको सम्पर्कमा रही आइसोलेसन वार्डमा बसिरहेका अस्पतालका सदस्य सचिव एमव् प्रवक्ता डा भोजराज अधिकारीले विज्ञप्तिमार्फत जानाएका छन् ।
सेवाग्राहीको चाप बढेसँगै चितवनमै कोरोना परीक्षण गर्ने गरी तयारी भइरहेको अस्पतालले जनाएको छ । चितवन प्रदर्शनी केन्द्रमा सञ्चालित सो अस्पतालमा ५० वटा साधारण बेड, १० वडा सघन कक्ष (आइसियू) र १० बेड एचडियू रहेका छन् ।
थप स्वास्थ्यकर्मी माग
यसैबीच, कोरोना भाइरस (कोभिड–१९) को उपचार गर्नका लागि चितवनको भरतपुरमा बनेको कोरोना विशेष अस्पतालले स्वास्थ्यकर्मीको माग गरेको छ ।
अस्पतालका प्रवक्ता डा भोजराज अधिकारीले सूचना जारी गर्दै कोरोना भाइरस संक्रमितको उपचार गर्न केही स्वास्थ्यकर्मी माग गरेका हुन् ।
उक्त अस्पतालले चिकित्सक, नर्स, ल्याब टेक्निसियन, रेडियोग्राफरसहितको स्वास्थ्यकर्मी माग गरेको हो । जसका लागि चैत १३ गते साँझ ५ बजेसम्म सम्पर्कमा आउन भनिएको छ । आवेदकहरुको अन्तर्वार्ता चैत १४ गते बिहान १० बजेबाट अस्पतालमा नै हुने सूचनामा उल्लेख गरिएको छ । स्वास्थ्यकर्मीको छनौट अन्तर्वार्ताबाटै हुने जनाइएको छ ।