-रवि रोषी
चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १२ र १३ का वडाध्यक्षको पहलमा विदेशबाट घर फर्केकालाई क्वारेन्टाइनमा पठाउन आज विशेष अपरेशन सुरु गरेको थियो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट आफ्नो वडालाई मुक्त राख्ने अभियानमा १२ नं का वडाध्यक्ष वीरबहादुर पाख्रिन, १३ नं का वडाध्यक्ष चित्रबहादुर भण्डारी, स्वास्थ्य सहायक अमृतकुमार राजभण्डारी, १३ नं वडाका वडा सदस्य अजित चौंरेललगायतका सहयोगीहरुको पहलमा सूचनाको आधारमा सम्बन्धित व्यक्तिहरुको घरमा गएर उनीहरुलाई क्वारेन्टाइनमा पठाउने काम भएको हो ।

रत्ननगर नगरपालिका वडा नं १२ घर भई वैदेशिक रोजगारको सिलसिलामा युएई बस्ने र बिदामा चितवन आएकी वर्ष २१ कि युवती र उनकाे परिवारलाई लाई रत्ननगर बकुलहर अस्पतालबाट सञ्चालित आकस्मिक स्वास्थ्य प्राविधिक सेवासहितको नेपाल एम्बुलेन्स सेवामार्फत भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा पठाइएको छ ।

त्यसैगरी कुवेतबाट नेपाल आएका रत्ननगर नगरपालिका वडा नं १३ अमिलिया बस्ने २० वर्षीय एक युवक उनका ५ जना परिवार सदस्य, जापानबाट छुट्टी मनाउन नेपाल आएका रनपा १३ का एक युवा र उनकी श्रीमती लगायत ५ जना गरी कुल ७ जना, भारतबाट नेपाल आएका १८ वर्षीया एक युवा र १८ वर्षीया अर्का युवा, कतारबाट नेपाल फर्केका एक युवा र उनका २ जना परिवार सदस्य, साउदीबाट छुट्टीमा नेपाल आएका २७ वर्षीया एक युवाका  र श्रीमतीसहित उनका ससुराली परिवारका ३ जना सदस्यलाई पनि निःशुल्क एम्बुलेन्स सेवामार्फत भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा पठाइएको छ ।

हालसम्म २८ जनालाई भरतपुरस्थित विशेष अस्पतालमा पठाइसकिएको र भोलिका दिनमा पनि यसरी नै घरदैलो कार्यक्रम गरी उनीहरुको स्वास्थ्य परीक्षणको लागि आफूले यस अभियानलाई जारी नै राख्ने वडाध्यक्षद्धय पाख्रिन र भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया