चितवन । खैरहनी नगरपालिकाले ज्याल मजदुरी गरी जीवन निर्वाह गर्नेहरुलाई राहत उपलब्ध गराउने भएको छ । लकडाउनको समय लम्बिन सक्ने अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले त्यस्ता परिवारहरुलाई राहतस्वरुप खाद्यान्न उपलब्ध गराउने भएको हो ।

खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीको अध्यक्षतामा शनिबार बसेको आपतकालीन बैठकले नगरभित्र त्यस्ता परिवारको तथ्यांक संकलन गर्ने काम अन्तिम चरणमा रहेकाले टोल विकास संस्थामार्फत खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको नगरपालिकाका प्रवक्ता रामशरण पाण्डेले बताए । परिवारमा रहेका व्यक्तिहरुको संख्याका आधारमा चामल, दाल, नुन, तेल र एक थान साबुन उपलब्ध गराइने प्रवक्ता पाण्डेले जानकारी दिए ।

नगरले वडालाई पठाउने र वडाले टोल विकास संस्थामार्फत ती खाद्यान्न सामाग्री वितरण गर्नेछ । कुनै संघसंस्था वा व्यक्तिले त्यस्ता परिवारलाई राहत उपलब्ध गराउन चाहेमा नगरमा सम्पर्क गर्न अनुरोध गरेको छ । एकद्धार प्रणालीमार्फत राहत वितरण प्रभावकारी हुने भएकाले समन्वय गर्न आग्रह गरेको हो ।

बैठकले दैनिक बजार अनुगमन गर्ने निर्णय समेत गरेको छ । त्यसको जिम्मा सार्वजनिक क्षमता अभिवृद्धि तथा खरिद समितिका संयोजक टीकादत्त इटनीको टिमलाई दिइएको छ ।

सो समितिले नगरपालिका, इलाका प्रहरी कार्यालयसंगको समन्वयमा सर्वसुलभ तरिकाबाट सामान उपलब्ध भए नभएको,कृतिम अभाव सृजना गरे नगरेको अनुगमन गर्नेछ । यस्तै, विदेशबाट आएकाहरु होम क्वारेनटाइनमा बसे नबसेको, उनीहरुको स्वास्थ्य अवस्थाबारे निरन्तर अनुगमन गर्ने निर्णय पनि गरेको छ । बैठकले कोरोना भाइरसको संक्रमण हुन नदिन नगरभित्र किटनाशक विषादी छर्ने निर्णय पनि गरेको छ ।

बैठकमा नगरपालिका उपमेयर सुनिता थपलिया, प्रवक्ता रामशरण पाण्डे, विपद् व्यवस्थापन समिति संयोजक भूमिप्रसाद कँडेल, क्षमता अभिवृद्धि समिति संयोजक टीकादत्त इटनी, सामाजिक विकास समिति संयोजक मनेजर महतो, नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर अधिकारी, स्वास्थ्य शाखा सहसंयोजक रुद्र शर्माको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया