चितवन । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्नेविरुद्ध कडारूपमा प्रस्तुत भएको प्रहरीले आज बिहान रत्ननगरबाट ७७ जनालाई नियन्त्रणमा लिएको छ ।कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले जारी गरेको आदेशलाई बेवास्ता गर्ने ५ महिलासहित उनीहरुलाई रत्ननगरकोे विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) शेखरकुमार साहले जानकारी दिएका छन् । सो क्रममा २२ ओटा मोटरसाइकल ,१२ वटा साइकल र एक थान चारपाङ्ग्रे गाडीलाई समेत नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक साहले बताए ।स्वास्थ्यजस्तो गम्भीर विषयमा सरकारी आदेशको अवज्ञा गरेकालाई कडाइ थालेको प्रहरीले आज बिहान १० बजेसम्मको समयमा उनीहरुलाई नियन्त्रणमा लिएको साहले जानकारी दिए । विश्वव्यापीरूपमा कोरोना भाइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी चैत १८ गते बिहान ६ बजेसम्म अत्यावश्यकबाहेक बाहिर ननिस्कन आदेश जारी गरेको छ ।

तपाईको प्रतिक्रिया