चितवन । रोटरी क्लब अफ रत्ननगरले भरतपुर अस्पताललाई पिपिईलगायतका सामग्रीहरु सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण चिकित्सकलाई उपचारमा सहज होस् भनेर क्लबले ५० थान पिपिई र १५० थान ग्लोब्स उपलब्ध गराएको हो ।

क्लबका अध्यक्ष विपीन पोखरेलले आज अस्पतालमा आयोजित कार्यक्रममा भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीलाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।

सामग्री ग्रहण गर्दै तिवारीले चिकित्सक, स्वास्थ्यकर्मीको स्वास्थ्यमा ध्यान दिएर गरिएको सहयोगप्रति खुसी व्यक्त गरे । आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा गर्दै यसले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई काममा सहयोग पुग्ने बताए ।

भरतपुर अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीले बिरामीको उपचार गर्दा प्रयोग गर्ने सुरक्षित पोसाकहरु नहुँदा समस्या परिरहेका बेला रोटरीले उक्त सहयोग गरेको हो ।अध्यक्ष पोख्रेलले बिरामीको उपचारमा तल्लीन चिकित्सकहरुसमेत संक्रमणको जोखिममा पर्न सक्ने भन्दै सामग्री हस्तान्तरण गरिएको बताए ।

आगामी दिनहरुमा पनि सहयोग गर्ने उनको भनाइ थियो । क्लबले रु दुई लाख ५० हजार रुपैयाँबराबरको सामग्री काठमाडौँमा खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको हो । अस्पतालमा पिपिई र ग्लोब्सजस्ता सामग्रीको अभाव छ ।

क्लबले यसअघि गाउँगाउँमा सेनिटाइजर वितरण गरेको थियो । यस्तै, भरतपुर अस्पतालमा बच्चाको सघन उपचार कक्षमा सहयोग पुग्ने सामग्री, रोटरी पुस्तकालय, शहीद स्मृति पुस्तकालय, लटौली खाजा तथा लघुवित्त कार्यक्रमको सञ्चालन, रोटरी सार्वजनिक शौचालय निर्माण, बृहत रक्तदान कार्यक्रमजस्ता सामाजिक काम गर्दै आएको छ ।

क्लबले सौराहामा पर्यटकको आगमनलाई लक्षित गर्दै रोटरी घण्टाघरको निर्माणको कामलाई तीव्र बनाएको क्लबका निवर्तमान अध्यक्ष जनक पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया