
चितवन । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने सवारी साधन एवम मानिसहरूलाई जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहतका प्रहरीले विभिन्न स्थानबाट तीन महिलासहित १७४ जनालाई नियन्त्रणमा लिई विभिन्न स्थानहरूमा होल्डमा राखिएको छ ।
लकडाउनको छैटौँ दिन आइतबार लकडाउन उल्लघंन गर्ने साइकलसहित ४१ सवारी साधनलाई बेलुकी ७ बजेसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले कारबाही गरेको हो । जिल्लाका विभिन्न ठाउँहरुबाट २० मोटरसाइकल, ६ स्कुटर र १५ साइकल चालकलाई कारबाही गरिएको ट्राफिक प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।
मोटरसाइकल र स्कुटरलाई दिनभर नियन्त्रणमा लिई बेलुका जनही एक हजार रुपैयाँ जरिवाना तिराएर सचेत गराएर छाडिएको उनले बताए । साइकल चालकलाई पनि दिनभर नियन्त्रणमा लिएर सचेत गराएर छाडिएको उनले बताए ।
अनावश्यक कामले सडकमा निस्किएका सवारी साधनहरुलाई ट्राफिकले कडाइका साथ कारबाही गर्दै आएको छ । आज पक्राउ परेका व्यक्तिहरुलाई होल्ड (जहाँको तहीँ)मा राखी लकडाउन अवधिभर अटेरी नगरी नहिँड्ने शर्तमा साँझमा छाडिएको प्रहरीले जनाएको छ ।