काठमाडौँ । चीनबाट आएका सामानहरूमा भ्रष्टाचार वा कमिसनको खेल भएको भन्ने समाचार मध्यमहरूले बाहिर ल्याएका समाचारहरूप्रति नेकपा (मसाल)को गम्भीर ध्यान आकर्षित भएको सो पार्टीका अध्यक्ष मोहनविक्रम सिंहले विज्ञप्तिमा जनाएका छन् । उक्त विषयमा स्थिति स्पष्ट गर्न वा आवश्यकतानुसार छानबिन गर्न उनले सरकारसित अनुरोध गरेका छन् ।

‘अहिले देश महामारी र गम्भीर प्रकारको सङ्कटको मुखमा उभिएको बेलामा सरकारको कुनै पनि तहबाट जीवनका लागि परम आवश्यक स्वास्थ्यसम्बन्धी सामाग्रीमा भ्रष्टाचार र कमिसनको खेल हुन्छ भने त्यो गम्भीर प्रकारको अमानवीय र अक्षम्य कार्य हुनेछ’, विज्ञप्तिमा भनिएको छ । त्यसप्रकारको कुनै पनि कारबाही हुन नदिन उच्च सतर्कता अपनाउन सरकारसित माग गरेका छन् ।

अहिले देशमा कोरोना भाइरसका कारणले पैदा भएको असहज स्थितिबाट नाजायज फाइदा उठाएर उद्योग, व्यापारीहरूले कालोबजारी गर्न थालेका समाचार पनि व्यापक रूपमा आइरहेको र देशमा गम्भीर प्रकारको संकटको स्थिति उत्पन्न भएको बेलामा केही नाफा कमाउनका लागि कृत्रिम अभावको स्थिति पैदा गर्नु वा कालोबजारी गर्नु पनि अक्षम्य प्रकारको अपराध भएको सो पार्टीले ठहर गरेको छ । उद्योग वाणिज्यसित सम्बन्धित संस्थाहरू वा सरकारसित पनि त्यसप्रकारको कालोबजारीमाथि नियन्त्रण गर्नका लागि अनुरोध विज्ञप्तिमार्फत गरिएको छ ।

देशका विभिन्न भागमा क्वारेन्टाइनमा राखिएका व्यक्तिहरूको स्वास्थ्य जाँच वा उपचारको राम्रो व्यवस्था नभएको तथा कतिपय स्थानहरूमा ताल्चामात्र लगाएर राखिएको समाचार पनि प्राप्त भइरहेकाले त्यसप्रति विशेष ध्यान दिन सरकारसित अनुरोध गरिएको छ ।

कतिपय ठाउँहरूमा जनताले स्वास्थ्य जाँच वा क्वारेन्टाइनमा बस्न अस्वीकार गरेको, जबर्जस्ती गर्ने गरेको वा त्यहाँबाट भाग्ने गरेका समाचारहरू पनि प्राप्त भइरहेका छन् । त्यसो गर्नु स्वयं आफू र आफ्नो परिवार तथा सम्पूर्ण समाज वा देशका लागि गम्भीर सङ्कट वा महामारी निम्त्याउनु नै हुने भएकाले त्यसप्रकारको गैरजिम्मेवार तरिका नअपनाएर कोरोना भाइरसले पैदा गरेको स्थितिमा अनुशासित भएर बस्न पनि अध्यक्ष सिंहले सम्पूर्ण जनतासित अपिल गरेका छन् ।

२०७६ चैत्र १६ गते

image.png

मोहनविक्रम सिंह
(महामन्त्री)

तपाईको प्रतिक्रिया