धादिङ । कोरोना संक्रमित भएको आशंकामा ललितपुरको पाटन अस्पताल भर्ना गरिएका एक जना बिरामीको सोमबार दिउँसो मृत्यु भएको छ । उनको कोराना परीक्षणको रिपोर्ट भने आइपुगेको छैन ।

अस्पतालका निर्देशक प्राडा विष्णु शर्माका अनुसार अस्पतालमा कोरोनाको आशंकामा तीन जनालाई आइसोलेसनमा राखिएको थियो । धादिङको खनियाबास गाउँपालिका स्थायी घर भएका ३६ वर्षका ती बिरामी भारतबाट फागुन १४ गते घर आएका थिए । किड्नीको समेत समस्या रहेका उनलाई केही दिनदेखि अत्यधिक ज्वरो आउन थालेपछि परिवारले उनलाई उपचारका लागि जिल्ला अस्पताल धादिङ ल्याएका थिए ।

धादिङ अस्पतालले आइतबार उनलाई काठमाडौँ रिफर गरेको थियो । मृतक युवाका एक आफन्तका अनुसार ती बिरामीलाई आइतबार ४ बजे पाटन अस्पताल पु¥याइएर आइसियूमा भर्ना गरी उपचार सुरु गरिएको थियो ।

आइसियूमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले बतायो । १६ वर्षमै भारतीय सेनामा भर्ती भई १८ वर्षदेखि भारतीय सेनामा कार्यरत उनलाई दुई दिनदेखि ज्वरो आएपछि आइतबार धादिङबाट काठमाडौँ पठाइएको थियो ।

तपाईको प्रतिक्रिया