चितवन । खैरहनी नगरपालिकाको वडा नम्बर १२ र १३ मा (डिस्इन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्किन सुरु गरिएको छ । कुमरोज मध्यवर्ती सामुदायिक वन खैरहनी नगरपालिका वडा नम्बर १२ र १३ को आयोजनामा कीटनाशक औषधि वडाभरि छर्किन सुरु गरिएको हो।

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड-१९ (कोरोना भाइरस)को संक्रमणलाई वडाभित्र फैलिन नदिन कीटनाशक औषधि छर्किन सुरु गरिएको वडा नम्बर १२ का वडाध्यक्ष टीकाराम तिमिल्सिनाले बताएका छन्। वडाभित्र कीटनाशक औषधि अभियानअन्तर्गत बोलेरोमा एक हजार लिटरका २ वटा ट्याङ्की राखेर छर्किएको वडा नम्बर १३ का वडाध्यक्ष बालकुमार उप्रेतीले बताए।

यसैबीच, खैरहनी नगरपालिका वडा नम्बर १२ र १३ का २१ सय घरधुरीलाई साबुन र मास्क वितरण गरिएको छ। टोल सुधार समिति वडा सदस्य र वनका पार्षद् सदस्दमार्फत् प्रत्येक घरमा गएर हात धुने साबुन र मास्क बाँडिएको हो।

प्रतिघर ५ वटाका दरले साबुन र प्रतिघरका सम्पूर्णलाई माक्स वितरण गरिएको कुमरोज मध्यवर्ती सामुदायिक वनका उपाध्यक्ष सानोकाजी कुँवरले बताए ।

सबै वडावासीलाई घरभित्रै बसी सरकारले घोषणा गरेको लकडाउनलाई पालना गर्न उपाध्यक्ष कुँवरले आग्रह गरे। दैनिक ज्याला मजदूरी गरेर जीवन धान्नेहरुलाई खानाको व्यवस्था वडाले नै गर्ने र कोही त्यस्तो भए सम्पर्क गर्न खैरहनी नगरपालिका वडा नम्बर १३ का वडा सदस्य जीवन कार्कीले जानकारी दिए।

तपाईको प्रतिक्रिया