-नारायण अधिकारी
चितवन । राजधानीपछिको प्रमुख मेडिकल सिटीका रुपमा यस जिल्लालाई चिन्ने गरिन्छ । केन्द्रीय अस्पताल भरतपुर, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज, २० भन्दा बढी निजी अस्पताल, भरतपुर आँखा अस्पतालसँगै यहाँका औषधि उद्योग, प्याथोलोजी जस्ता सेवाकै कारण भरतपुरलाई ‘मेडिकल सिटी’का रुपमा लिने गरिन्छ ।

चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने नेपालको कुल जनताको २० प्रतिशत जनतालाई यहाँका अस्पतालले स्वास्थ्य सेवा दिएको दाबी गर्छन् । जिल्लामा देशैभरबाट उपचारका लागि यहाँ आउने गरेको भए पनि छिमेकी जिल्लाबाट धेरै बिरामी उपचारका लागि यहाँ आउँछन् । न्यौपानेका अनुसार चितवन मेडिकल कलेजले गत वर्ष छ लाख बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो ।

भरतपुर अस्पतालले तीन लाख, क्यान्सर अस्पतालले तीन लाख निजी अस्पतालले दुई लाख बिरामी हेरेका थिए भने अर्को मेडिकल कलेज कलेज अफ मेडिकल साइन्सेज भरतपुरले चितवन मेडिकल कलेजको भन्दा केही कम बिरामीको उपचार गरेको थियो । यहाँको भरतपुर आँखा अस्पताल, प्याथोलोजी, दन्त क्लिनिकलगायतले पनि ठूलै सङ्ख्यामा बिरामी हेर्ने गर्छन् । यसलाई हेर्दा वार्षिक १८ लाख हाराहारी बिरामीले यहाँबाट सेवा लिने गर्छन् ।

न्यौपाने आफ्नो कलेजले पिसिआर ल्याब स्थापना गर्ने तयारी गरेको भए पनि बनिनसकेको बताउँछन् । सरकारी तवरबाट ल्याब अत्यावश्यक रहेको उनको भनाइ छ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अस्पतालमा १९ जिल्लाबाट बिरामी आउने गरेको तथ्याङ्क रहेको छ । सोही अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारी आफूले स्वास्थ्य मन्त्रालयमा पिसिआर ल्याब स्थापनाका लागि आग्रह गरी पत्राचार गरेको बताउँछन् । अहिले ल्याब भएको भए छिटो परीक्षण गर्न सकिने उनको भनाइ छ । भरतपुर चितवनको मात्र नभएर यस देशकै मेडिकल ‘हब’ भएकाले राजधानीपछिको पिसिआर ल्याबको आवश्यकता महसुस गरिएको उनको भनाइ छ ।

समय समयमा यहाँ इन्फुलुन्जा, सार्सजस्ता रोग देखिने र देखिन सक्ने भएकाले ल्याब स्थापना गर्नुपर्ने उनले जानकारी दिए । नेपालभरि र भारतबाटसमेत बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामी उपचारका लागि आउने गर्छन् । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले ‘एक्टिब भाइरस’ हेर्न पिसिआर ल्याब तत्काल आवश्यक रहेको बताए । अस्पतालमा भएको पिसिआर ल्याब एक्टिब भाइरस हेर्न मिल्ने गरी जडान नभएकाले समस्या भएको उनको भनाइ छ ।

जिल्लामा रहेका निजी अस्पतालको संस्था निजी अस्पताल समन्वय समितिका सचिव विक्रम अधिकारी चितवन उष्ण प्रदेश भएकाले रोगको सङ्क्रमण बढी हुने बताउँछन् । उनले भने, “यहाँको मौसम रोगका लागि उपयोगी छ ।” धेरै जिल्लाको ‘रिफरल सेन्टर’ पनि भएकाले पिसिआर ल्याब यही हुनुपर्ने उनको भनाइ छ । अहिले यहाँ त्यस्तो ल्याब नहुँदा काठमाडौँमा निर्भर गर्नुपर्ने भएको छ । दिनहुँ रोगका नमूना काठमाडौँ पठाउनुपर्ने बाध्यता रहेको छ ।

नेपाल चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष डा अनिलविक्रम कार्की काठमाडौँपछि सबैभन्दा बढी चिकित्सक भएको जिल्ला चितवन रहेको बताउँछन् । उनका अनुसार एक हजारभन्दा बढी चिकित्सक यहाँ कार्यरत छन् । रोगको पहिचानका लागि तत्काल यहाँ ल्याब खडा गर्नुपर्ने उनले बताए ।

नेपाली काँग्रेस चितवनले विज्ञप्ति नै जारी गरी जिल्लामा पिसिआर ल्याब सञ्चालन गर्न माग गरेको छ । जिल्ला सभापति जितनारायण श्रेष्ठले ल्याबको अभावमा समयमा रोग पत्ता लाग्न नसक्दा भयावह अवस्था आउन सक्ने भएकाले दबाबका लागि विज्ञप्ति निकालेको बताउँछन् ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आफूले पहल गरिरहेको बताइन् । उनले भनिन्, “मैले मन्त्रीज्यू र सम्बन्धित विभागका प्रमुखसँग कुराकानी गरिरहेको छु, उहाँहरु सकारात्मक हुनुहुन्छ ।” यो जिल्ला ७८औँं जिल्लाका रुपमा परिचित छ । यहाँ देशको सबै जिल्लाबाट बसाइँ सराइ गरी आएका मानिस बसोबास गर्ने भएकाले पनि बिरामीको सङ्ख्या बढी हुने गर्छ । रासस

तपाईको प्रतिक्रिया