चितवन । उद्योग वाणिज्य संघ चितवनले भरतपुर महानगरअन्तर्गत वडा नं १ र २ का दैनिक ज्याला, मजदुरी गर्ने र विपन्न वर्गलाई खाद्यान्न वितरण गरेको छ ।

संघअन्तर्गत रहेका महिला उद्यमी विकास समिति र कार्यसमितिका महिला उद्यमीहरुको संयोजनमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

भरतपुर महानगरअन्तर्गत वडा नं १ र २ का वडासँग समन्वय गरी चामल, दाल, नुन, तेल, चिउरा, आलु, प्याज, चिनीलगायतका सामग्री वितरण गरिएको संघका वरिष्ठ अधिकृत निलबहादुर केसीले जानकारी दिए ।

उवासंघ-चितवनका अध्यक्ष राजु श्रेष्ठले देश विषम परिस्थितिमा गुज्रिरहेको अबस्थामा सरकारले घोषणा गरेको लकडाउनका कारण दैनिक मजदुरी गरी खाने सर्वसाधारणको दैनिकी पीडादायी भएकोले संघको सामाजिक उत्तरदायित्वअन्तर्गत राहत वितरण गरिएको बताए ।

उनले महानगरका अन्य वडामा पनि राहत वितरण गर्नको लागि स्थानीय निकायसँग समन्वय भइरहेको बताए । खाद्यान्न विपन्न बस्तीमै पुगेर सामाजिक दूरी कायम गरी वितरण गरिएको श्रेष्ठले जानकारी दिए ।

संघले चैत १८ गते भरतपुर कोरोना अस्पताललाई एन-९५ मास्क वितरण गरेको थियो । कार्यक्रममा संघका कार्यसमितिका महिला उद्यमी रजनी मास्के, लक्ष्मी रिमाल पौडेल, योगिता पिया, शर्मिला न्यौपाने, पूर्णिमा श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया