
चितवन । चितवनको भरतपुरस्थित राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशालामा कोरोना भाइरसको नमुना परीक्षण ल्याब स्थापना हुने भएको छ ।
भरतपुर महानगरपालिकाले चासो बढाएपछि सरकारले भरतपुरमा ल्याब निर्माण गर्न लागेको हो ।
बिहीबार स्वास्थ्य मन्त्रालयको प्राविधिक टोलीले कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरको प्रयोगशाला र राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशाला, भरतपुरको निरीक्षण गरेको थियो । सो प्राविधिक टिमले छलफलपश्चात राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुर नै उपयुक्त हुने निष्कर्ष निकालेपछि आरटी पिसिआरसहितको कोरोना भाइरसको नमुना परीक्षण प्रयोगशाला सोही स्थानमा स्थापना गर्ने निर्णय भएको ल्याब स्थापनाका लागि गठित उपसमितिका संयोजक कृष्णसागर शर्माले बताए ।
प्राविधिक टोलीमा नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्टार पुष्पराज खनाल, प्राडा गिरिराज त्रिपाठी, भाइरोलोजिष्ट विमलेश झा र सुलभ आचार्य रहेका थिए ।
उनका अनुसार तत्कालका लागि कृषि तथा वनविज्ञान विश्वविद्यालयमा रहेको आरटी पिसिआर मेसिनलाई प्रयोगमा ल्याइने छ । यस्तै, अन्य उपकरण र जनशक्ति तयार पारेर छिट्टै ल्याब सञ्चालनमा ल्याइने भरतपुर महानगर प्रमुख रेनु दाहालले जानकारी दिएकी छन् ।