चितवन । भरतपुर-१२ का युवा व्यवसायी तथा समाजसेवी सुजन ओझाले २६ विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेका छन् । लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर खाने देवघाट क्षेत्रका परिवारलाई ओझाले सहयोग गरेका हुन् ।
ओझाले देवघाट क्षेत्र विकास समितिका पदाधिकारी समक्ष एक हप्तालाई पुग्ने दाल, चामल, नुन, तेललगायतका सामाग्री वितरण गरेका थिए । ओझाले लकडाउनका कारण सबैभन्दा बढी मर्कामा ज्याला मजदुरहरु परेकोले राहतस्वरुप खाद्यान्न सहयोग गरिएको बताए ।
सुजन प्लानिङ एण्ड कन्सट्रक्सनका अध्यक्षसमेत रहेका ओझाले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै उनीहरुलाई वितरण गरिएको बताए । देश नै संकटमा रहेको अवस्थामा एक नागरिकले अर्को नागरिकलाई सहयोग गर्नुपर्ने भन्दै अन्य वडाहरुमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
सामाजिक कार्यमा पनि उतिकै सक्रिय ओझाले यस अघि लकडाउनलाई लक्षित गर्दै भरतपुर महानगरपालिकाका विभिन्न वडामा रहेका विपन्नहरुलाई सहयोग गरिसकेका छन् ।
राहत वितरण कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरे, देवघाट टोल विकास समितिका अध्यक्ष मुकुन्दशरण सिग्देल, सचिव मधु अधिकारी, भरतपुर महानगर १ का सदस्य शुक्रकुमार श्रेष्ठ,अस्थायी प्रहरी पोस्ट देवघाटका असई कारी रावतलगायतको सहभागिता रहेको थियो ।