वीरगञ्ज । नेसनल मेडिकल कलेज वीरगञ्जका चिकित्सक इस्लाम मन्सुरीको गैरजिम्मेवारीका कारण कलैया उपमहानगरपालिका–२० ढोडा निवासी २२ वर्षीय विजय कुशवाहाको मृत्यु भएको भन्दै परिवारजनले कारबाही र क्षतिपूर्तिको माग गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गरी परिवारजनले दोषीलाई कडा कारबाही र पीडितजनलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका हुन् ।

यही चैत १५ गते सामान्य ज्वरो र रुघाखोकी लागेपछि नेसनल मेडिकल कलेजमा भर्ना गरिएका विजयलाई स्वास्थ्य जाँच गरी डा मन्सुरीले कोरोना भाइरसको सङ्क्रमण भएको बताएको मृतकका भाइ महेशले बताए । बेड नम्बर २४ मा भर्ना गरिएका दाइको वार्डबाट सबै बिरामीलाई अर्को वार्डमा सारेको र आफूहरुमाथि दुव्र्यवहार गरी प्रहरी लगाई ‘कोरोना भएको व्यक्तिलाई एक मिनेट पनि राख्न नसक्ने’ भन्दै अस्पतालले जबरजस्ती नारायणी अस्पतालमा पठाएको मृतकका अर्का भाइ राजाले बताए ।

नारायणी अस्पतालले बिरामीको अवस्था हेरी वीरगञ्जको हेल्थकेयरमा रिफर गरेको थियो । त्यस अवधिसम्म मिडियामा दाइ विजयको कोरोना लागेको खबर पनि अस्पतालले चारैतिर फैलाइसकेको भाइ महेशको आरोप छ ।

चैत १६ गते हेल्थकेयर, ब्योधालगायतका अस्पतालमा लगे पनि कोरोना लागेको हो भनी उपचार नगरेपछि बाध्य भएर राति करिब नौ बजे एम्बुलेन्स भाडामा लिई काठमाडौँ लगिएको उनले बताए ।

“बाटोमै दाइको अवस्था निकै बिग्रिसकेको थियो । टिचिङ अस्पतालमा भर्ना गराएपछि केहीबेरमै मृत घोषणा गरियो”, महेशले भने, “शवलाई फ्रिजमा राख्न लगाएर म र भाइ राजालाई क्वारेन्टाइनमा राखी खानसमेत दिइएन ।”

त्यहाँका वरिष्ठ चिकित्सकहरूले आफूहरुलाई बोलाई सबै कुरा सोधपुछ गरेर कोरोना परीक्षणका लागि शव टेकु अस्पतालमा पठाएइएको र परीक्षणमा दाइ विजयमा कोरोना भाइरसको सङ्क्रमण फेला नपरेपछि चैत १८ गते शव बुझाएको उनले बताए । उनका अनुसार त्यही दिन शवलाई बारा ल्याई दाहसंस्कार गरियो । मृतककी श्रीमती अन्तिमा सात महिनाको गर्भवती छिन् ।

बारा र पर्साका प्रहरी प्रशासनलाई समस्याका बारेमा जानकारी दिँदासमेत कुनै सुनवाइ नभएकाले दाइको ज्यान गएको भन्दै भाइ महेशले अरु नेपाली दाजुभाइको पनि दाइजस्तो ज्यान नजाओस् भनेर सबैलाई सचेत हुन आग्रह गरे ।

उनले यस्तो गैरजिम्मेवार नेसनल मेडिकल कलेजको खारेजी र डाक्टरमाथि कडा कारबाहीको माग गरे । कोरोना पुष्टि भएको रिपोर्ट दिने नेसनल मेडिकल कलेजका प्रबन्धक, चिकित्सक, नर्स र ल्याबमा काम गर्नेहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा ज्यान मार्ने मुद्दा दिने उनले बताए ।

अस्पताललाई सामग्री प्रदान

प्रदेश नं २ सरकारका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले कलैया अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालय बारालाई कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने सामानह प्रदान गरे ।

मन्त्री सोनलले कलैया अस्पतालका प्रमुख डा वीरेन्द्र मण्डललाई ४०० थान ग्लोभ्स, ३० वटा पिपइ, १०० थान मास्क र कोरोना सचेतनाका लागि एक थान पुस्तक प्रदान गरेका हुन् ।

त्यसैगरी उनले जिल्ला जनस्वास्थ्य कार्यालय बाराका वरिष्ठ जनस्वास्थ्य प्रशासक राजकिशोर पण्डितलाई ५०० थान मास्क, २० वटा पिपिई, १०० ग्लोभ्स र एउटा सचेतना पुस्तक प्रदान गरेका थिए । रासस

तपाईको प्रतिक्रिया