चितवन । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढ्दै गएको समयमा कोरोना नियन्त्रण कार्यदल भरतपुरले जिल्लामा रहेका अस्पतालहरुलाई व्यक्तिगत सुरक्षाका सामग्री (पिपिई)हरु हस्तान्तरण गरेको छ ।

कार्यदलका संयोजक एवं भरतपुर महानगर प्रमुख रेनु दाहालले कार्यदललाई प्राप्त भएका पिपिई आज अस्पतालहरुलाई हस्तान्तरण गरेकी हुन् । विभिन्न संघसंस्थाद्वारा हस्तान्तरण गरिएका तथा महानगरले खरिद गरेर ल्याएका पिपिई जिल्लाका विभिन्न अस्पतालहरु र प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

सो अवसरमा दाहालले भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीलाई १०० थान, चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेलाई ५० थान, कलेज अफ मडिकल साईन्सेजका निर्देशक डा. मनोहर प्रधानलाई ५० थान, निजी अस्पताल समन्वय समितिका अध्यक्ष नारायणसिंह कुँवरलाई ६० थान, भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख दीपक सुवेदीलाई ६० थान र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङ्लाई १० थान हस्तान्तरण गरेकी हुन् ।

सामग्री हस्तान्तरण गर्दै संयोजक दाहालले अहिलेको समय सरकारी र निजी सबैको समान दायित्व भएको भन्दै कार्यदलले हेर्ने दृष्टिकोण पनि समान रहेको बताइन् । कोरोना भाइरस रोकथामको यस अभियानमा सरकारसँगै निजी अस्पतालहरुले सहयोग गर्दै आएको भन्दै सबैप्रति आभार प्रकट गरिन् ।

उनले निजी स्वास्थ्य संस्थाहरुलाई अहिलेको परिस्थितिमा सरकारको निर्देशनअनुरुप बिरामीको भर्ना गर्न र उपचारमा संलग्न हुन आग्रह गरिन् ।

कार्यदलका सदस्य सचिव डा. भोजराज अधिकारीले दाताहरुलाई कार्यदलमार्फत सहयोग गर्न आह्वान गरिएको जानकारी दिए । उनले भने, “हामीले सबैलाई एकद्वार प्रणालीमार्फत सहयोग गर्न आह्वान गरेका छौँ ।”

तपाईको प्रतिक्रिया