-अजित अधिकारी
वीरगंज । लकडाउनका बेला अज्ञात समूहले वीरगन्ज महानगरपालिका २४ को वडा कार्यालयमा चोरी गरी आगजनीसमेत गरेको छ ।
अज्ञात समूहले वडा कार्यालय भवनमै रहेको स्वास्थ्यचौकीको पनि ढोका तोडेर औषधि चोरेर लगेको छ । रामगढवामा रहेको वडा कार्यालय र स्वास्थ्यचौकीमा गए राति अज्ञात समूहले आगजनी गर्नुका साथै सरसामान पनि चोरेर लगेको वडाध्यक्ष दशरथ राउत कुर्मीले जानकारी दिए ।

अज्ञात समूहले वडा कार्यालयको ढोकाको ताल्चा फुटाएर कार्यालयभित्र आगजनी गर्दा टेबुल १ थान, कुर्सी २ थान र कार्यालयका विभिन्न अभिलेख रहेका कागजपत्रहरु जलेर खरानी भएका छन् ।

कार्यालयभित्र रहेका २ मध्ये एउटा दराजको ताल्चा तोडेर त्यसभित्र रहेका सबै कागपत्र र फाइल झिकेर आगजनी गरिएको वडा सचिव घनश्याम कुर्मीले नेपालीको आवाज डटकमलाई जानाकारी दिए ।

वडा कार्यालयबाट कम्प्युटर डेस्कटप १ थान, सिपियु १ थान, प्रिन्टर १ थान, युपिएस १ थान, पंखा १ थान, हिटर १ थान, राउटर १ थान र पानी तान्ने मोटर १ थान चोरी भएको वडा सचिव घनश्यामले जानकारी दिए ।

आगजनी गर्नेहरुले स्वास्थ्यचौकीको कोठाको पनि ताल्चा फुटाएर केही औषधि लगेको उनले बताए । लकडाउनले समस्यामा परेका विपन्न, गरिबलाई राहत वितरणका लागि सर्वदलीय बैठक बस्न आज बिहान ७ बजे वडा कार्यालय पुग्दा कार्यालयको ताल्चा तोडेर आगजनी गरेको देखिएको वडा सचिव कुर्मीले बताए । आगजनी र चोरीबाट करिब चार लाखबराबरको क्षति भएको उनले जानकारी दिए ।

चोरी गर्ने मनसायभन्दा पनि जनप्रतिनिधिसँग रिसिइबी साँध्ने नियतले वडा कार्यालयमा आगजनी गरिएको हुनसक्ने वडाध्यक्ष कुर्मीले बताए । प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले घटनामा संलग्नको खोजी भइरहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया