चितवन । कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिम न्यूनीकरण गर्ने र रोकथाम गर्ने उद्देश्यले सरकारले घोषणा गरेको लकडाउनको ११औँ दिन शुक्रबार चितवनमा ४९ जना होल्ड कारबाहीमा परेका छन् ।

शुक्रबार लकडाउन उल्लंघन गर्ने २२ सवारी साधन र ४९ मानिसलाई ‘होल्ड’ गराएर कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानमा लकडाउन उल्लंघन गर्ने १४ मोटरसाइकल, दुई स्कुटर र छ साइकललाई नियन्त्रणमा लिइएको चितवन प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । लकडाउन उल्लंघन गरी अनावश्यकरुपमा सडकमा हिँड्ने पाँच महिलासहित ४९ जनालाई भेटेकै ठाउँमा दुई घन्टा होल्ड गराई सचेत गराएर साँझ ८ बजेपछि छाडिएको प्रवक्ता कोइरालाले बताए ।

उनीहरुलाई सम्झाइबुझाइ गरी अतिआवश्यक कामबाहेक लकडाउन अवधिभर घरबाहिर ननिस्कने गरी छाडिएको प्रहरीले जनाएको छ । अन्य दिनको भन्दा शुक्रबार लकडाउन उल्लंघन गर्नेको संख्यामा कमी आएको छ ।

तपाईको प्रतिक्रिया