चितवन । चितवनको विकट पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकाको वडा नम्बर १ का चेपाङ्ग समुदायलाई कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम हुन नदिन हातधुन साबुन वितरण तथा सचेतना कार्यक्रम सुरु गरिएको छ ।

स्थानीय निकायसगँको समन्वयमा सचेतना जगाउँदै साबुन बाँड्न वितरण गरिएको सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष धुव्र गिरीले जानकारी दिए ।

पहिलो चरणमा ईच्छाकामनाको तोबाङ्गका ३३ र डाँडा ११ घरधुरीलाई सिराइचुली टोल सुधार समितिका अध्यक्ष भीम चेपाङ्ग, चौकी डाँडा टोल सुधार समितिका अध्यक्ष धनलाल चेपाङ्ग र थाप्राङ्ग टोल सुधार समितिका भद्र चेपाङ्गको रोहबरमा साबुन वितरण गरिएको थियो ।

यसैबीच, कालिका नगरपालिकाभित्रका विभिन्न वडामा विदेशबाट फर्किएका ६० जना होम क्वारेन्टाइनमा रहेको नगर प्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिए । उनले क्वारेन्टाइनमा रहदा केही समस्या आइपरे नगरपालिकामा सम्पर्क गर्न अनुरोधसमेत गरे ।

नगरपालिकाका मेलमिलाप संयोजक सुर्दशन अधिकारीको संयोजकत्वमा १३ सदस्यीय होम क्वारेन्टाइन समिति नै निर्माण गरेर अनुगमन गरिरहेको र जुटपानीमा १५ शैय्याको क्वारेन्टाइनसमेत निर्माण गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया