-अजित अधिकारी
वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा थप २० बेडको आइसोलेसन वार्ड निर्माण भएको छ । योसँगै नारायणी अस्पतालमा कोरोना संक्रमित बिरामीहरुको उपचार गर्नका लागि २५ बेडको आइसोलेसन तयार भएको छ ।

नारायणी अस्पतालको आकस्मिक सेवा कक्षको माथिल्लो तल्लामा २० बेडको नयाँ आइसोलेसन वार्ड निर्माण भएको हो । पर्सा क्षेत्र नम्बर १ का सांसद् प्रदीप यादवको नेतृत्वमा आल्मुनियम र ग्लासबाट निर्मित २० बेडको आइसोलेसन वार्ड आज एक समारोहबीच नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई हस्तान्तरण गरिएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पताल बारा, पर्सा, रौतहट जिल्लाका बिरामीहरुको केन्द्र रहेको भए पनि कतैबाट सहयोग नजुटेको अवस्थामा सांसद् यादवको पहलमा २० बेडको आइसोलेसन वार्ड निर्माण पछि अब आउने कोरोनाका नयाँ बिरामीको उपचारमा सहज हुने नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।

मेडिकल सुपरिटेन्डेन्टकै आग्रहबमोजिम सांसद् यादवले रुङ्गता बेलफेयर सोसाइटी र जगदम्बा ग्रुप तथा लायन्स क्लबको सहयोगमा २० बेडको आइसोलेसन वार्ड १० लाखको लागतमा निर्माण गरी अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

आइसोलेसन वार्ड शनिबारदेखि पूर्णरुपमा सञ्चालनमा आएको बताउँदै सांसद् यादवले वीरगञ्जमा जनताको पक्षमा कुनै पनि काम आँटेमा त्यो पूरा भएर छाडने उदाहरण ३६ घन्टाभित्र निर्मित २० बेडको आइसोलेसनले देखाएको बताए ।

तपाईको प्रतिक्रिया