चितवन । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमले बिरामी सकेसम्म अस्पताल जान चाहँदैनन् । सो जोखिमले रोग पालेर बसिरहँदा दीर्घरुपमा समस्या पर्न सक्ने भन्दै चिकित्सकले अहिले बढी सजग हुन सुझाव दिएका छन् ।

भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारी कोरोनाको डर हृदयघातभन्दा चर्कोजस्तो देखिएको बताउँछन् । उनले भने “गत वर्षहरुमा यो समयमा करिब २० जना हृदयरोगका बिरामी उपचारका लागि आउने तथ्यांक छ । तर, अहिले दुई जना पनि आउँदैनन् ।”
टेलिफोन गरेर सोधपुछ गर्ने भए पनि रोग पालेर बसेका छन् कि भन्ने चिन्ता हुन थालेको डा अधिकारीको भनाइ छ ।

उनले घरमा नै बसेर परामर्शमा औषधि खाएर हुनेबाहेक सम्भावित जटिल हुन सक्ने खालका बिरामीलाई अस्पताल आउन आग्रह गरे । डा अधिकारीले भने, “अस्पताल आउनै पर्ने बिरामीले डर मान्नुपर्दैन । उच्च जोखिमका रोग पालेर बस्नुहुँदैन ।”

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार गएको आठ दिनमा जिल्लाका सबै अस्पताल र स्वास्थ्य केन्द्रमा ३ हजार ८२९ जना विभिन्न रोगका बिरामीले सेवा लिएका थिए । तीमध्ये ८५० जना ज्वरोका र ६२ जना रुघाघोकीका रहेका थिए । गतवर्ष यतिबेला जिल्लाका अस्पतालहरुमा ७ हजारभन्दा बढी बिरामीले सेवा लिएका थिए ।

जिल्लामा केन्द्रीयस्तरको भरतपुर अस्पताल, २ निजी मेडिकल कलेज, २० निजी अस्पताल, ३ सरकारी अस्पताल, ३ प्राथमिक स्वास्थ्य केन्द्र, ३६ स्वास्थ्यचौकी, २५ वटा ग्रामीण सहरी स्वास्थ्य केन्द्र र ५ वटा सामुदायिक इकाइ रहेका छन् । प्रमुख तिवारीले घरबाटै चिकित्सक तथा स्वास्थ्यकर्मीसँग परामर्श गर्ने काम भइरहेको र अस्पताल आउन डर मानेर पनि बिरामी नआएको हुनसक्ने बताउँछन् ।

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेल गतवर्ष यस समयमा दैनिक सरदर १ हजार ५ सयभन्दा बढी बिरामी आउने गरेको भए पनि शुक्रबार १५० जना बिरामीमात्र आएको बताउँछन् । त्यति नै सङ्ख्यामा बिरामी आउने चितवन मेडिकल कलेजमा शुक्रबार करिब एकसय जनामात्र बिरामीले सेवा लिएका थिए ।

कलेजका निर्देशक डा दयाराम लम्सालले चिकित्सकले सेवा जारी राखेको जानकारी दिँदै लकडाउनपछि त बिरामी नै आउन छाडेको बताउँछन् । उनी जटिल रोगका बिरामीलाई घरमा नै रोग पालेर नबस्न आग्रह गरेका छन् ।

भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले चिकित्सकले आफ्नो सेवा निरन्तर जारी राखेको बताउँछन् । टेलिफोनमा बुझेर अस्पताल आउनै पर्नेलाई ढुक्कसँग आउन उनले आग्रह गरे ।

नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष एवम् वरिष्ठ फिजिसियन डा प्रकाश खतिवडा पुराना रोगहरु मधुमेह, उच्च रक्तचाप, थाइराइड, दमजस्ता समस्यामा सम्बन्धित चिकित्सकसँग परामर्श गरेर औषधि प्रयोग गर्न सुझाव दिन्छन् । दम बढ्यो, अन्य कारणहरुले उच्च ज्वरो आउँदा अस्पताल आउनैपर्ने बताउँछन् ।

ज्वरो कोरोनाका कारणमात्र नभए डेँगु, मलेरिया, स्क्रबटाइफस, हेपाटाइटिसजस्ता कारणले पनि हुने भएकाले कारणको खोजी गर्नुपर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया