हेटौँडा । मकवानपुरको विकट क्षेत्र कैलाश गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तानले विभिन्न सङ्घसंस्थाले वितरण गर्ने राहतलाई अस्वीकार गर्न स्थानीयवासीलाई अनुरोध गरेका छन् ।

सामाजिक सञ्जालमार्फत अध्यक्ष मोक्तानले लकडाउनको अवधिमा खाना नपाई कोही मर्न नदिने सरकारले योजना बनाइसकेकाले ढुक्क हुन अपिल गरेका छन् ।

“कसको घरमा चुलो बल्न बन्द हुनलाग्यो छातीमा हात राखेर नढाँटीकन स्थानीय सरकारलाई खबर दिई सहयोग गर्नुहोला हामी स्थानीय सरकारका प्रतिनिधि त्यहाँ पुग्छौँ”, उनले भनेका छन् ।

अध्यक्ष मोक्तानले गाउँघरमा थुप्रै रैथाने चिजबिजहरु खाएरसमेत बाँच्न सकिने भन्दै पोका बाँडेर आफूलाई भगवान् बनाउन खोज्नेको राहत अस्वीकार गर्न अनुरोध गरेका हुन् ।

मोक्तानले गाउँलेलाई भनेका छन्, “गाउँमा खोले, सिस्नु, गिठ्ठा, भ्याकुर, कर्कलो, निउरो, टाकीको साग, कोइरालाको फूल, सिफ्लिगान, केराको बुङ्गो, वनतरुल, पिडालु, सिमलतरुल, पुतलीतरुल, चुइया र यस्तै अन्य नानाथरि प्रकृतिले उपलब्ध गराएको मौसमी चिजबिज खाएर बाँचिरहेका हामी नेपालीलाई वनमान्छे देख्ने र दयाको पात्र सम्झने आफूले आफूलाई भगवान् देखाउन सेतो चामलको बोरा बाँड्न आउनेहरुमाथि नै मनोदशारुपी कोभिड–१९ को भयानाक आक्रमण देखियो ।

मानवीयताको हिसाबले सहयोग गर्ने यतिखेर नै हो, हामी–हामीबीचमै सहयोग आदनप्रदान गर्न सकिन्छ, जे छ बाँडेर खान सकिन्छ । यो सङ्कटको बेलामा वल्लोपल्लो घरबाट एैचोपैचो चलाउँ, जिउँदाको जन्ती मर्दाको मलामी तपाईं हामी नै हौँ ।” रासस

तपाईको प्रतिक्रिया