चितवन । कामना विकास बैंक, नारायणगढ शाखाले भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित मानव सेवा आश्रमलाई खाद्यान्न सामग्रीसहित सेनिटाइजर र मास्क सहयोग गरेको छ ।

बैंकका शाखा प्रबन्धकसहितको टोलीले आज आश्रम पुगेर एकहप्तालाई पुग्ने खाद्य सामग्री सहयोग गरेको हो । हस्तान्तरण कार्यक्रममा शाखा प्रबन्धक सुरेश घिमिरले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खाद्यान्न सामग्रीसहित सुरक्षा कवच प्रदान गरेको बताए ।

देश नै कोरोना संक्रमण र लकडाउनको अवस्थामा गुज्रेको भन्दै घिमिरेले यहांँ रहेका बेसहारा वृद्धवृद्धालाई राहत पुगोस् भन्ने हेतुले सामग्री सहयोग गरिएको बताए । पांँच वर्षअघि सञ्चालनमा आएको उक्त आश्रममा मानसिक सन्तुलन ठीक नभएका, बेसाहारा, सहयोगापेक्षी गरी ६० जना आश्रित छन् ।

सो क्रममा प्रतिक्रिया दिँदै आश्रमकी जिल्ला संयोजक निता केसीले आश्रममा दैनिक खाद्य सामग्री अभाव भइरहेको बेला बैकले गरेको सहयोगले केही राहत मिलेको बताइन् । लकडाउनअघि अन्य दाताहरुले दैनिकरुपमा विभिन्न अवसर पारेर आर्थिक सहयोग गर्दै आए पनि हालका दिनहरुमा सहयोग कम आएका कारण समस्या पर्दै गएको उनको भनाइ थियो ।

बैंकले आजै पशुपतिनाथमा रहेका बांँदरहरुलाई पनि खाद्यवस्तु दिएको बताएको छ । बैंकले यसअघि पनि विपन्न समुदायमा स्वास्थ्य शिविर, सामुदायिक विद्यालयमा स्टेशनरी सामग्री वितरण गरेको थियो । बैंकको देशभर १२३ शाखा छन् भने चितवनमा मात्रै ५ वटा शाखा रहेका छन् ।

तपाईको प्रतिक्रिया