पोखरा । विश्वव्यापी महामारीका रुपमा बढिरहेको कोरोना भाइरस सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाली काँग्रेस कास्कीले मातहतका इकाईलाई सक्रिय बनाएको छ ।

पार्टीले जिल्लाका सबै नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गर्दै जिल्ला समिति मातहतका सबै इकाईलाई सक्रिय बनाएको पार्टीका प्रवक्ता नवीन सिग्देलले बताए ।

जिल्ला समितिको निर्देशनअनुसार प्रत्येक एकाइले आ–आफ्ना तर्फबाट आवश्यक सहयोगमा जुटीरहेको उनले जानकारी दिए ।
यसैबीच, नेपाली काँग्रेस माछापुच्छ्रे गाउँपालिका समिति कास्कीले गाउँपालिकाभित्र कोरोना भाइरसको सङ्क्रमणबाट नागरिकलाई जोगाउने लक्ष्यका साथ ‘ब्लिचिङ’ पाउडरको झोल छर्केको छ ।

पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको सहभागितामा गाउँपालिकाका नौवटै वडामा ब्लिचिङ पाउडरको झोल छर्कने काम गरिरहेको नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य विष्णुबहादुर क्षेत्रीले जानकारी दिए ।

“शुक्रबारदेखि गाउँपालिका–२ सार्दीखोलाबाट शुरु गरिएको ब्लिचिङ पाउडरको झोल छर्कने कार्य आज वडा नं ७ धम्पुसबाट सकिँदैछ,” उनले भने, “हामीले सँगसँगै सचेतनामुलक कार्यक्रम पनि अघि बढाएका छौँ, सचेतनाका लागि पार्टीका नेता तथा कार्यकर्ताको परिचालन एवम् सामाजिक सञ्जालको भरपुर उपयोग गरिएको छ ।”

आगामी दिनमा कोरोनाविरुद्धको सङ्घर्षमा पार्टीलाई सङ्गठित गर्दै अघि बढ्ने बताउँदै उनले यस विषम परिस्थितिमा आँफू पनि बाँच्ने र अरुलाई पनि बँचाउने अभियानमा जुट्नुको विकल्प नभएको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया